दाङ – दोस्रो संबिधानसभा निर्वाचनमा दाङमा काँग्रेसले पाँचै क्षेत्रमा विजय हासिल गरेको छ । राति १ बजे सकिएको मतगणना परिणाम अनुसार एमाले दोस्रो स्थानमा रहेको छ । २०६४ को संबिधानसभा निर्वाचनमा पाँचै क्षेत्र जितेको माओवादी यसपटक तेस्रो स्थानमा पुगेको छ ।
२०४८ सालदेखि लगातार बर्चश्व देखाउँदै आएको काँग्रेसले फेरी यसपटक इतिहास दोहोर्याएको छ । काँग्रेसले २०४८ सालमा ३ क्षेत्रमध्ये २, २०५१ सालमा ४ मध्ये ३ वटा र २०५६ सालमा ४ वटै क्षेत्रमा विजयी हाँशिल गरेको थियो । मत परिणाममा अग्र स्थानमा देखिएपछि काँग्रेसले बिहीबार दिउँसोदेखि राती अवेरसम्म घोराही बजारमा विजय जुलस गरेको थियो । ‘चार तारा पाँचै सिट, बल्ल देख्यौ प्रचण्ड हाम्रो जीत’ भन्ने नारा लगाउँदै काँग्रेस कार्यकर्ताले बजार परिक्रमा गरेका थिए ।
यसपटक क्षेत्र नं. १ मा काँग्रेसकी पार्वती डिसी चौधरी ८७१९ मत लिएर विजयी भएकी छिन् । एमालेका रेवतीरमण शर्मा ७ हजार ७४ मत लिएर दोस्रो र एमाओवादीकी नारायणी शर्मा ५ हजार ७ सय ८ मतले तेस्राे भएका छन् । क्षेत्र नं. २ मा काँग्रेसकी सुशिला चौधरी १० हजार ४ सय ३० मतले विजयी भएकी छिन् । एमाओवादीका होमबहादुर पुन ८ हजार ५ सय ९० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका छन् । एमाले उमेद्वार शान्ता चौधरी ७ हजार ४ सय २ मतले तेस्रो स्थानमा रहेकी छिन् ।
क्षेत्र नं. ३ मा पनि काँग्रेसका राजु खनाल १५ हजार ४८ मत ल्याएर विजयी भएका छन् । एमालेका लक्ष्मण आचार्य ७ हजार ९ सय ४१ मतले दोस्रो र एमाओवादीका निर्मल आचार्य तेस्रो भएका छन् ।
क्षेत्र नं. ४ मा पनि काँग्रेसका बुद्धिराम भण्डारी १४ हजार ५ सय ३ मतले विजयी भएका छन् । उनले एमाले सचिव शंकर पोख्रेललाई २ हजार ६ सय ९७ मतले पछि पारेका छन् । पोख्रेलले ११ हजार ८ सय ६ मत ल्याएका छन् । एमाओवादीका रामजी चौधरी ७ हजार २ सय १४ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
क्ष्ाेत्र नं. ५ मा काँग्रेसका दिपक गिरी १५ हजार ३ सय ५८ मतले विजयी भएका छन् । एमालेका उत्तरकुमार ओली १० हजार ९ सय ६३ मतले देस्रो र एमाओवादीका धिरज शेर्पाइली ७ हजार ४ सय ५० मतले तेस्रो स्थानमा छन् ।
पहिलो संबिधानसभा निर्वाचनमा माओवादीलाई भारी मतले जिताएका मतदाता यसपटक भने इतिहासतिरै फर्किर्एका छन् । लामो सशस्त्र राजनीतिबाट आएको माओवादीबाट परिवर्तनको आशा गरेका मतदाताले माओवादीबाट केही उपलब्धीमुलक काम नभएको नदेखेपछि फेरी पुरानै मत सुरक्षित गर्न पुगेको देखिएको छ ।
जिल्लामा ५ निर्वाचन क्षेत्रमा १ सय ४१ मतदान स्थल र ३ सय ३७ मतदान केन्द्र थिए । जिल्लाभर २८ वटा दलका १ सय ७ प्रत्यक्ष र ८१ जना समानुपातीक उमेद्वारहरु प्रतिस्पर्धामा थिए । जिल्लामा २ लाख ३८ हजार ७ सय २८ मतदाता छन् । EKANTIPUR