एमाले माधवकुमार नेपाल पुनः प्रधानमन्त्री हुन तयार

काठमाडौं, मंसिर ७ – एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले आवश्यक ठाने आफू पुनः प्रधानमन्त्री हुन तयार रहेको बताएका छन् ।
विजयी प्रमाणपत्र थाप्न संविधानसभा भवन परिसर पुगेका नेता नेपालले भावी प्रधानमन्त्रीको सम्भावनाबारे यस्तो बताएका हुन् । ‘मैले चाहेर प्रधानमन्त्री हुने होइन,’ उनले भने, ‘पार्टीले आवश्यक ठानु जस्तोसुकै चुनौति सामना गर्न तयार छु ।’
नेता नेपालले निर्वाचन मतपरिणामसँग असन्तुष्ट एमाओवादीलाई हतास नहुन आग्रह गरे । उनले आगामी संविधान पार्टीको एजेण्डाअनुसार नबन्ने स्पष्ट पार्दै संविधानलाई सहमतीय दस्तावेज बनाइने बताए । उनले संविधान निर्माणमा एमाओवादीको भावनामात्र समेटेन नपुग्ने बताउँदै सहभागी हुनुपर्ने बताए ।
हारजीतका कारण एमाओवादीसहित कुनै पार्टीलाई अपमान नगरिने उनले बताए ।
२०४७ सालमा ९० दिनमा संविधान बनेको स्मरण गर्दै नेता नेपालले एक वर्षमा संविधान बनाउन सकिनेमा आफू विश्वस्त भएको बताए । EKANTIPUR