काठमाडौ – प्रत्यक्षतर्फको अन्तिम मतपरिणाममा एमाओवादी उम्मेदवार विजयी भएका छन् । सप्तरी २ प्रत्यक्षतर्फको आज सकिएको मतणनामा एमाओवादी उम्मेदवार अशोक मण्डल ६ हजार ४६ मत ल्याएर विजयी भए ।
सोही क्षेत्रबाट सद्भावनाका नगर किशोर साह ५ हजार ६ सय २४ मत ल्याएर दोस्रो भए । फोरम नेपालका चन्द्रनारायण यादवले ४ हजार ८ सय ३५ मत ल्याए ।
मण्डलको विजयसँगै एमाओवादीको प्रत्यक्षतर्फ २६ सिट भएको छ । २४० क्षेत्रको मतपरिणाममा कांग्रेसको एकसय ५ सिट र एमालेको ९१ सिट छ । अघिल्लो निर्वाचनमा एकसय २० सिट जितेको एमाओवादीको २६ सिटसहित तेस्रो भएको छ ।
सप्तरी २ को एक मतपेटिकामा बढी मत भेटिएपछि पुनः मतदान गरिएको थियो ।
समानुपातिक तर्फ भने देशभर मतगणना जारी छ । प्रत्यक्षतर्फ पहिलो बनेको कांग्रेसलाई पछि पार्दै समानुपातिक मतमा एमाले अग्रस्थानमा छ । हालसम्मको नतिजामा एमाओवादी तेस्रो र राप्रपा नेपाल चौथो स्थानमा छ । EKANTIPUR