राजविराज – संविधान सभा-२ को निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीको ६ वटै क्षेत्रबाट उम्मेदवारी दिएका कुल २ सय ५० जना उम्मेदवारमध्ये पूर्व मन्त्रीसँगै २ सय २४ जनाको जमानतसमेत जफत भएको छ ।
संविधान सभाको अघिल्लो निर्वाचनमा १२ हजार ६ सय ८१ मत ल्याएर सप्तरी ४ बाट विजयी भएकी फोरम नेपालका कोषाध्यक्ष एवं पूर्व शिक्षा मन्त्री रेणुकुमारी यादवकोसमेत जमानत जफत भएको छ भने १४ हजार २८ मत ल्याएर सप्तरी ६ बाट निर्वाचित भएका पूर्व कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव अहिलेको निर्वाचनमा पराजित भएका छन् । दुबै जना अघिल्लो चुनावमा पाँच हजार अन्तर मतले विजयी भएका थिए ।
यता जिल्लाको ६ वटा क्षेत्रबाट ६ जना निर्वाचित भएको र अन्य १९ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको हो । सबभन्दा बढी तमलोपाका ५ जना उम्मेदवारको सप्तरीमा जमानत जफत भएको छ भने एमालेका ३ र कांग्रेस, एमाले, एमाओवादी, फोरम नेपाल, फोरम लोकतान्त्रिक र सद्भावना पार्टीका २/२ जना उम्मेदवारको जमानत जफत भएको हो । उता विभिन्न पार्टी त्यागेर बागी भई स्वतन्त्र उम्मेदवारी दिएका सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जमानत जोगाउनेहरुमा क्षेत्र नम्बर १ बाट एमालेका सुमनराज प्याकुरेल, फोरम लोकतान्त्रिकका हेमराज तातेड र फोरम नेपालका सूर्यनाथ प्रसाद यादव, क्षेत्र नम्बर २ बाट सद्भावना पार्टीका नवलकिशोर साह र फोरम नेपालका चन्द्रनारायण यादव, क्षेत्र नम्बर ३ बाट फोरम नेपालका शैलेन्द्रप्रसाद साह, तमलोपाका जयप्रकाश ठाकुर, कांग्रेसका रामकुमार चौधरी र सद्भावना पार्टीका अनिस अन्सारी छन् ।
यस्तै क्षेत्र नम्बर ४ बाट कांग्रेसका दिनेशकुमार यादव, फोरम लोकतान्त्रिकका सत्यनारायण यादव र सद्भावना पार्टीका जिस्मुल खाँ, क्षेत्र नम्बर ५ बाट एमालेका गोविन्दबहादुर न्यौपाने, फोरम लोकतान्त्रिकका छेदीलाल चौधरी र सद्भावना पार्टीका दिनेशकुमार यादव तथा क्षेत्र नम्बर ६ बाट फोरम लोकतान्त्रिकका मृगेन्द्रकुमार सिंह यादव, दलित जनजाति पार्टीका मो. इस्लाम, एमाओवादीका छत्रनारायण यादव र फोरम नेपालका अनिरुद्धप्रसाद सिंहको जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
अन्य राजनीतिक दलका उम्मेदवारहरुको भने जमानत जोगिन सकेन । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ । कुल २ लाख ९४ हजार ५ सय ४२ मतदाता रहेको सप्तरी जिल्लाको १ नम्बर क्षेत्रमा ४० हजार १ सय १५, २ नम्बर क्षेत्रमा ३३ हजार ९ सय ६६, ३ नम्बर क्षेत्रमा ३५ हजार ६ सय ४१, ४ नम्बर क्षेत्रमा ३६ हजार ७ सय ८३, ५ नम्बर क्षेत्रमा ३६ हजार ३ सय ४४ र ६ नम्बर क्षेत्रमा ३५ हजार ९ सय ८६ सदर मत खसेको थियो ।
सप्तरी १ मा ४३, २ मा ५१, ३ मा ४४, ४ मा ४२, ५ मा ३७ र ६ नम्बर क्षेत्रमा ३३ जना उम्मेदवार चुनावी मैदानमा थियो । जस अन्तर्गत विभिन्न क्षेत्रबाट २२ महिला र ३६ जना स्वतन्त्र उम्मेदवार थिए । सप्तरीमा भने महिला र स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छैन ।
सप्तरी १, २, र ३ मा क्रमशः एमाओवादीका मानपुर चौधरी, अशोककुमार मण्डल र उमेशकुमार यादव निर्वाचित भएका छन् । सप्तरी ४ मा भने एमालेका ताराकान्त चौधरी तथा ५ र ६ मा काँग्रेसका तेजुलाल चौधरी र सुरेन्द्रप्रसाद यादव निर्वाचित भएको छ । EKANTIPUR