निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याको वितरण आइतबार गर्ने

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याको वितरण आइतबार गर्ने गृहकार्य गरेको छ । मतगणना सकिन लागेपनि तथ्याङ्क केन्द्रीकरण, प्रशोधन र सिट विभाजनका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार बुधबार साँझ सम्म ८४ लाखभन्दा बढि गणना सकिएको छ । ‘शुक्रबारसम्म बाँकी मतगणना सकिने अनुमान गरेका छौ,’ प्रमुख आयुक्त नीलकन्ठ उप्रेतीले भने- ‘तथ्याङ्क प्रशोधन लगाय काम सकेर आइतबारसम्म दलहरुको सिट विभाजन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’
देशभरबाट प्राप्त गरेको मतका आधारमा दलले पाउने सिट संख्या निर्धारण गरी बिजयी उम्मेद्वार सिफारिस गर्न आयोगले सम्बद्ध दलको केन्द्रीय समितिलाई पत्राचार गर्नेछ । आयोगको कार्यविधि बन्दसूचीमा रहेका उम्मेद्वार मध्येबाट बिजयीको नाम सिफारिस गर्न दलहरुले ७ दिनको समय पाउनेछन् । दलले केन्द्रीय समितिबाट निर्णय गरी आयोगमा पठाएको नामावलीमा समावेशी सिद्धान्त नमिले आयोगले तीन भित्र सच्याउन अर्को पत्र पठाउने छ ।
 दलहरुले यसअघि नै बुझाएको बन्दसूची भित्रबाट बिजयी उम्मेद्वार पठाउनु पर्नेछ । यसो गर्दा दलहरुले बन्दसूचीको जुनसुकै क्रमबाट पनि बिजयी उम्मेद्वार पठाउन सक्नेछन् । तर निर्वाचन कानुनमा उल्लेख भएअनुसार सबै दलले ५० प्रतिशत महिला पठाउनु पर्नेछ । ३० प्रतिशत भन्दा बढि उम्मेद्वारी दिएका दलहरु मधेसी ३१.२, दलित १३, उत्पीडित जाति, आदिवासी जनजाति ३७.८, पिछडिएको क्षेत्र ४, खस-आर्य र अन्य समूहबाट ३०.२ प्रतिशतको कोटा मिलाएर पठाउनुपर्ने अनिवार्य ब्यवस्था छ ।
दलको सिफारिस अनुसार आयोगले बन्दसूचीका उम्मेद्वारलाई बिजयी घोषणा गरी राष्ट्रपतिलाई जानकारी गराउने छ । राजपत्रमा नाम प्रकाशित गरेपछि मात्र यसले औपचारिकता पुरा गर्छ । समानुपातिकतर्फ देशभरलाई एउटै निर्वाचन क्षेत्र मानेर दलहरूले प्राप्त गरेको मतका आधारमा ३ स ३५ सभासद निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिकतर्फको  पछिल्लो परिणाम
कांग्रेस- २१ लाख ८१ हजार
एमाले- २० लाख २८ हजार
एमाओवादी- १२ लाख ८४ हजार
राप्रपा नेपाल- ५ लाख ५९ हजार
राप्रपा- २ लाख ४१ हजार
फोरम लोकतान्त्रिक- २ लाख ४० हजार
फोरम नेपाल-१ लाख ८८ हजार
तमलोपा- १ लाख ४० हजार
नेकपा माले- १ लाख १५ हजार
संघीय समाजवादी- १ लाख ११ हजार
सद्भावना पार्टी- १ लाख ५ हजार
EKANTIPUR