संविधानसभा निर्वाचनमा उपत्यकामा ४ सय ८३ जना उम्मेदवारको जमानत जफत

काठमाडौ – संविधानसभा निर्वाचनमा उपत्यकामा ४ सय ८३ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत गुमाउनेमा एमाओवादीका तीन जनासहित स्वतन्त्र र अन्य साना दलका उम्मेदवार छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ का एमाओवादी उम्मेदवार मुक्ति प्रधान, क्षेत्र नम्बर ५ का एमाओवादी उम्मेदवार महेन्द्र श्रेष्ठ र भक्तपुर २ का एमाओवादी उम्मेदवार देवीप्रसाद ढकालको जमानत जफत भएको छ ।
उपत्यकामा एमाओवादी, कांग्रेस र एमाले लगायत स्वतन्त्रसहित ५ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कानुन अनुसार कुल सदर मतको १० प्रतिशत नल्याउनेको जमानत जफत हुन्छ । कानुनअनुसार प्रत्येक उम्मेदवारले उम्मेदवारी दर्ता गराउन तीन हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने हुन्छ । यसरी तीन हजार रुपैयाँको दरले उपत्यकामा मात्र १४ लाख ४९ हजार रुपैयाँ धरौटी उठेको छ ।
काठमाडौंका १० वटै निर्वाचन क्ष्ाेत्रका ३ सय ६५ उम्मेदवारमध्ये ३ सय ३१ जनाको जमानत जफत भएको छ ।  क्षेत्र नम्बर १ मा ४७ मध्ये ३४, क्षेत्र नम्बर २ मा ४६ मध्ये ४२ र क्षेत्र नम्बर ३ मा २८ मध्ये २५ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर ४ मा ४२ मध्ये ३९, क्षेत्र नम्बर ५ मा २८ मध्ये २५ जनाको जमानत जफत भएको छ । यो क्षेत्रमा एमाओवादीका महेन्द्र श्रेष्ठको जमानत जफत भएको छ भने राप्रपा नेपालका राजाराम श्रेष्ठले जमानत फिर्ता पाएका छन् । क्षेत्र नम्बर ६ मा ३५ मध्ये ३२ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर ७ मा ३२ मध्ये २८, क्षेत्र ८ मा २८ मध्ये २५, क्ष्ाेत्र नम्बर ९ मा ४० मध्ये २५ जना र क्षेत्र १० मा ३९ मध्ये ३६ जनाको जमानत जफत भएको छ ।
भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रमा ६४ उम्मेदवार मध्ये ५७ जनाको जमानत जफत भएको छ । भक्तपुर १ मा २९ मध्ये २५ जनाको जमानत जफत भएको हो । त्यसैगरी २ मा ३५ मध्ये ३२ जनाको जमानत जफत भएको छ । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा १ सय १० उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर १ मा ४० मध्ये ३२ जना र क्षेत्र नम्बर २ मा ३८ मध्ये ३५ जनाको जमानत जफत भएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ मा ३२ मध्ये २९ जनाको जमानत जफत भएको छ । EKANTIPUR