मध्य तथा सुदूर पश्चिमका तराईका जिल्लाहरुमा अझै पनि ३ सय ८ जना थारू समुदायका किशोरीहरू कमलरीको रूपमा काम गर्न बाध्य

सरकारले कमलरी प्रथा उन्मुलन भएको घोषणा गरे पनि पश्चिम नेपालका बाँकेलगायत मध्य तथा सुदूर पश्चिमका तराईका जिल्लाहरुमा अझै पनि ३ सय ८ जना थारू समुदायका किशोरीहरू कमलरीको रूपमा काम गर्न बाध्य छन्।
 
मुक्त कमलरीको संस्था मुक्त कमलरी विकास मञ्चले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बाँकेमा ६१, दाङमा ७९, बर्दियामा ५९, कैलालीमा ८३ र कञ्चनपुरमा २६ जना किशोरीकहरू अहिले पनि कमलरीको रूपमा मालिकको घरमा काम गर्न बाध्य भएको भन्दै उनीहरुलाई तत्काल मुक्त गर्न सरकार समक्ष आग्रह गरेको छ।
 
कमलरी प्रथा उन्मुलनको घोषणा भएको चार महिना बितिसके पनि बिभिन्न पार्टीका नेता शिक्षक, डाक्टर तथा कर्मचारीले आफ्ना घरमा अझै पनि १६ वर्षभन्दा कम उमेरका किशोरीलाई घरेलु नोकरको रूपमा राखेर श्रम शोषण गरेको कमलरी विकास मञ्च बाँकेकी अध्यक्ष दील कुमारी थारूले बताईन।
 
कानुन बिपरित कमलरी राख्ने बिभिन्न पार्टीका नेता, शिक्षक, डाक्टर तथा कर्मचारीहरुको बिवरण जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई उपलब्ध गराई कमलरी राख्नेमाथी तत्काल कारबाही गरी कमलरीहरुलाई मुक्त गर्न मञ्चले आग्रह गरेको छ।
 
सरकार र मुक्त कमलरीबिच २०७० जेठ २४ गते भएको दश बुँदे सहमती अनुसार कमलरीलाई परिचयपत्रको ब्यवस्था गर्न , मुक्त भएका कमलरीलाई पठनपाठन तथा सीपमुलक तालिमको ब्यबस्था गर्न , कमलरीलाई उपलब्ध गराइएको छात्रवृत्तीको रकम बढाउन र कमलरी शिक्षा निर्देशिका २०६८ लाई संशोधन गर्न मुक्त कमलरीहरुले सरकार समक्ष माग गरेका छन्।
 
कमलरीले सञ्चालन गर्दे आएको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल सरकारले २०७० साउन ४ गते कमलरी प्रथा अन्त्य भएको घोषणा गरेको थियो। setopati