कांग्रेसले सरकार तथा संविधान निर्माणका लागि अन्य दलसँग वार्ता गर्ने

काठमाडौं  – कांग्रेसले सरकार तथा संविधान निर्माणका लागि अन्य दलसँग वार्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय समितिको शुक्रबार बसेको बैठकले निर्वाचनमा जनताले दिएको अभिमत सबै राजनीतिकदलहरु मिलेर सहमतिका साथ संविधान निर्माण हुनुपर्छ भन्ने रहेको उल्लेख गर्दै सरकार तथा संविधान निर्माणका लागि अन्य दलसँग वार्ता गर्ने निर्णय गरेको हो ।
‘संविधान निर्माण र राज्य सञ्चालनमा नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग सहमति र सहकार्यकासाथ अघि बढ्न चाहन्छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिएर नयाँ संविधान देशलाई दिनु पर्छ भन्ने नेपाली कांग्रेसको प्रतिवद्धताहो । यसका लागि नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता, संवादलाई सघन रुपबाट अघिबढाउने निर्णय गर्दछ ।’
एमाओवादीले धाँधलीपूर्ण भएको निर्वाचनलाई कांग्रेसले शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षढंगले सम्पन्न भएको भन्दै सरकार तथा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ । उसले कांग्रेसलाई ठूलो दल बनाउने सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । ekantipur