काठमाडौ – कांग्रेस र एमालेले विघटित संविधानसभामा भएका सहमतिको स्वामित्व लिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस र एमालेका शीर्ष नेताहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरूसँग छलफल गरी प्रमुख दल मिलेर संविधान निर्माण गर्नुको विकल्प नभएको उल्लेख गर्दै विगतका सहमतिमै टेकेर अघि बढ्ने बताएका हुन् ।
दाहाल निवास लाजिम्पाटमा आइतबार बिहान कांग्रेस र एमालेका नेताहरूले सहमति र सहकार्यबाट मात्र संविधान निर्माण हुने भएकाले एमाओवादीलाई संविधानसभा र सरकारमा आउन आग्रह गरे । एमाओवादीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानका आधारमा संविधान निर्माणमा लाग्नुपर्ने र निर्वाचनमा ‘धाँधली’ भएको आरोपबारे स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग राखेको थियो ।
छलफलमा कांग्रेस सभापति सुशील कोइरालाले विगतका सहमतिलाई कार्यान्वयन गर्नेमा आशंका नगर्न दाहाललाई आग्रह गरेका थिए । ‘सहमति, सहकार्य र एकताबाट मात्र संविधान निर्माण सम्भव छ,’ कोइरालाको भनाइ थियो, ‘प्राप्त उपलब्धिको रक्षा गर्नेबारे शंका नगर्नुस् ।’ उनले एमाओवादीलाई संविधानसभा र सरकारमा आउन आग्रह गरेका थिए ।
कोइरालाले २०६४ को निर्वाचनमा आफ्नो पार्टीले हारेको स्मरण गराउँदै प्रतिस्पर्धामा हारजित भइरहने भन्दै एमाओवादीका नेतालाई सम्झाएका थिए । ‘निर्वाचनमा हारजित भइरहन्छ, यहाँ मुख्य कुरा संविधान बनाउने हो,’ कोइरालाले सम्झाए, ‘एक वर्षभित्र संविधान बनाउने जिम्मा तीन पार्टीलाई छ । त्यसकारण तपाईं हामीबीच सहमति हुन आवश्यक छ ।’
कांग्रेस नेताहरूसँगको बैठकपछि एमाले र एमाओवादीबीच छलफल भएको थियो । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रमुख तीन दल मिलेर अघि बढ्नुपर्ने भन्दै संविधानसभा र सरकारमा आउन आग्रह गरेका थिए । ‘हामी तीन शक्ति मिल्नैपर्छ, संविधान पनि सहमतिमै बनाउने हो,’ खनालको भनाइ थियो । उनले संविधानसभामा प्रवेशले मात्र समाधान निकाल्ने बताएका थिए ।
बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले एमाओवादीले १२ बुँदे समझदारीपछि भएका प्रमुख सहमतिमा टेकेर अघि बढ्ने प्रस्ताव गरेको बताए । ‘विगतका सहमति र सम्झौताका आधारमा अघि बढ्ने कुरा भएको छ,’ उनले भने, ‘निर्वाचनसम्बन्धी छानबिन आयोग बनाउने कुरा एमाओवादीका नेताहरूले गर्नुभएको छ ।’ उनले एमाओवादीसँग छलफल जारी रहेको बताए । ‘उहाँहरूले संविधानसभा र सरकारमा आउन आग्रह गर्नुभयो,’ बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले मुलुक प्रतिगमनतिर जान्छ कि भन्ने चिन्ता भन्यौं । सहमतिमा संविधान निर्माण गर्नेमा करिब विमति छैन ।’ एमाओवादीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता नउल्ट्याउन कांग्रेस-एमालेलाई आग्रह गरेपछि दुवै पार्टीका नेताहरूले ‘त्यस्तो नहुने’ बताएका थिए ।
एमाओवादीले निर्वाचनमा ‘धाँधली’ भएको भन्नेबारे उच्चस्तरीय स्वतन्त्र आयोग बनाउन आग्रह गर्दै त्यसपछि संविधानसभामा आउने बताएका थिए । ‘हामीलाई निर्वाचनमा धाँधली भएको भन्ने गम्भीर आशंका छ, यसबारे छानबिन गर्न स्वतन्त्र आयोग बन्नुपर्छ,’ दाहालले बैठकमा भने, ‘के भएको हो आयोगले छानबिन गरोस् ।’
कांग्रेस-एमालेका नेताहरूले स्वतन्त्र आयोग बनाउनभन्दा उच्चस्तरीय संसदीय समिति बनाउन प्रस्ताव राखेका थिए ।
एमाओवादी नेताहरूलेे त्यसमा सहमत नहुने भन्दै संविधानसभामा प्रवेश गर्ने वातावरण बनाउन स्वतन्त्र आयोग आवश्यक भएको बताएका थिए । ‘आयोग बन्ने र सहमतिमा अघि बढ्ने प्रतिबद्धता नभएसम्म हाम्रो पार्टीले संविधानसभामा नजाने निर्णय गरेको छ,’ श्रेष्ठले भने, ‘संविधानसभामा गए पनि समिति बनाउने कुरा हामीले मानेनांै ।’ EKANTIPUR