दलहरुबीच देखिएको मतभेद र विवादित मुद्दालाई उच्च स्तरीय राजनीतिक समिति मार्फत समाधान गर्न प्रमुख तीन दल सहमत भएका छन् । अब अहिले देखिएको सबै विवादहरु समितमा छलफल हुने भएको छ । कांग्रेसको पहलमा मंगलबार बिहान बसेको तीन दलको बैठकले समितिको बैठक भोलि बोलाउने सहमति गरेको छ ।
बबरमहलस्थित शान्ति कोष कार्यालयमा बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका तीन-तीन जना शीर्ष नेताहरु सहभागी थिए । एमाअोवादी नेता नारायणकाजी श्रेष्ठले भालि बिहान ९ बजे समितिको बैठक बस्ने र सबै मुद्दाहरु माथि त्यहाँ छलफल गर्ने सहमति भएको जानकारी दिए । समितिमा प्रमुख तीन दल बाहेक मधेसी माेर्चाको सहभागिता छ । निर्वाचनपूर्व विवादित सबै मुद्दामा समिति मार्फत नै सहमति जुटाउने काम भएको थियो ।
निर्वाचनमा धाँधली भएको भन्दै त्यसको छानविनका लागि स्वतन्त्र आयोग गठन हुनुपर्ने एमाअोवादी सहित केही मधेसी दलको माग छ । उनीहरु अायोग गठन नभएसम्म संविधानसभामा नजाने र समानुपातिकको नाम पनि नपठाउने अडानमा छन् । उनीहरुले संविधानसभा बैठकअघि नै आफूहरूले उठाएको माग पूरा हुनुपर्ने बताउँदै आएका छन् ।
एमाओवादीलाई सहमतिमा ल्याउने प्रयास गर्न बैठक शीर्ष नेताहरुबीच बैठक राखिएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । ‘संविधानसभालाई चाँडै पूर्णता दिएर बैठक बोलाई सबै समस्या त्यहींभित्र समाधान खोज्ने गरी छलफल गरी समाधान खोज्ने प्रयास गरिदैंछ,’ उनले भने ।