नेकपा-माओवादीका केन्द्रीय सदस्यहरूले ‘जनयुद्ध जगमा जनविद्रोह’ को औचित्य पुष्टि गर्न नेतृत्वलाई दबाब दिएका छन् । चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले सातौं महाधिवेशनको ‘जनयुद्ध जगमा जनविद्रोह’ को दिशाबारे स्पष्ट पार्न नेतृत्वसँग माग गरेका हुन् ।
करिब एक वर्षअघि सातौं महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ गर्ने कार्यदिशा पारित गरेको थियो । केन्द्रीय सदस्य सुदीप मल्लका अनुसार जनयुद्धको जगमा जनविद्रोहको मोडलबारे प्रस्ट पार्न नेतृत्वसँग माग गरिएको हो ।
दुई वर्षअघि एमाओवादीबाट अलग भएको नेकपा-माओवादी महाधिवेशनको एक वर्षपछि कार्यदिशाबारे अलमलमा परेको छ । आगामी पार्टीको कार्यदिशा र रणनीतिबारे स्पष्ट पारेर जनतामाझ जानुपर्ने केन्द्रीय सदस्यहरूको माग छ ।
चर्को बहसपछि बैठकमा सचिव नेत्रविक्रम चन्दले पार्टीले लिएको कार्यदिशा स्पष्ट रहेको जवाफ दिएका थिए । ‘हतार नगरौं, हामी स्पष्ट छौं, जनताले हामीलाई विश्वास गरेका छन्,’ उनले भने । एमाओवादीसँग एकताबारे चर्चा चले पनि तत्काल एकीकरण नगर्नसमेत सदस्यहरूले दबाब दिएका छन् । पार्टी अध्यक्ष मोहन वैद्यले एमाओवादी संविधानसभाबाट अलग भए पनि एकीकरणको सम्भावना नरहेको जवाफ दिएका थिए ।
संविधानसभा निर्वाचन बहिष्कार आन्दोलनमा सांगठनिक संरचनाका कारण केही समस्या उब्जिएको वैद्यको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । अध्यक्षकोप्रतिवेदनमा बोल्ने क्रम जारी छ ।