एमाओवादी नेतृत्वको गठबन्धनले निर्वाचनमा ‘धाँधली’ भएको भन्नेबारे स्वतन्त्र छानबिन आयोग गठन गर्ने अडान दोहोर्याएपछि दलहरूबीच यसबारे सहमतिको सम्भावना कम हुँदै गएको छ । उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्नुअघि नै एमाओवादी गठबन्धनले बैठक गरी आयोग गठन नगरे संविधानसभा नजाने निर्णय कायम राखेको हो ।
आइतबार उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादीले स्वतन्त्र आयोग गठन गर्न अडान लिने गठबन्धनको निर्णय प्रस्तुत गर्ने छ । कांग्रेस-एमालेले एमाओवादी, केही मधेसवादी दलको स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग अस्वीकार गर्दै आएका छन् ।
गठबन्धन बैठकमा सहभागी संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले स्वतन्त्र आयोग नबनेसम्म संविधानसभामा सहभागी नहुने निर्णय कायम राखेको जानकारी दिए ।
‘निर्वाचनमा धाँधली भएको भन्ने विषयमा संसदीय समिति बनाएर हुँदैन, उच्चस्तरीय स्वतन्त्र आयोग बनाउने अडान कायम राख्ने निर्णय भयो,’ उनले भने, ‘चुनाव जितेर गएका सांसदको छानबिन समिति बनाएर अर्थ हुँदैन ।’ उनले गठबन्धनमा रहेका दलको छानबिन आयोग गठन गर्ने माग ठूलो नभएको उल्लेख गर्दै कांग्रेस-एमालेले स्वीकार गर्नुपर्ने बताए ।
आयोग बने एमाओवादीलगायत दल संविधानसभामा सहभागी हुने बताएका छन् । आयोग बनाउने/नबनाउने विवाद हुँदा संविधानसभाको पहिलो बैठक बस्न अझै ढिलाइ हुने भएको छ ।
कांग्रेस-एमालेले संसदीय समिति बनाएर निर्वाचनको परिणामबारे छानबिन गर्न सकिने बताएका छन् । एमाओवादी नेतृत्वको गठबन्धनले यो प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ । राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको निर्णय राख्ने भएका छन् ।
निर्वाचनमा ‘धाँधली’ भएको शंका गरेका एमाओवादीलगायत मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, समाजवादी, सद्भावना, जनमुक्तिलगायत पार्टीहरूको औपचारिक रूपमा गठबन्धन बनाएर घोषणा गर्ने तयारी गरेका छन् । त्यसबारे कार्यविधि बनाउने काम भइरहेको श्रेष्ठको भनाइ छ । ‘कार्यविधिलाई अन्तिम रूप दिने तयारी भइरहेको छ,’ उनले भने । गठबन्धनका बस्ने १६ दलले नेताहरूको नाम आ-आफ्नो केन्द्रीय समितिबाट अनुमोदन गराउने निर्णय पनि गठबन्धनले गरेको छ । गठबन्धनको बैठक एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको थियो ।