भोजपुरको उत्तरी दिङ्लामा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
मुलपानी गाविस ३ सांग्राङकी ८ वर्षकी बालिकालाई छिमेकी विदुर तामाङले शनिबार दिउँसो बलत्कार गरेका हुन् ।
पीडित बालिकाको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । पीडितका बाबु सूर्यबहादुर तामाङले आफ्नी छोरीको उपचार खर्च अभाव भएको बताउनुभएको छ ।
बलात्कारमा संलग्न १७ वर्षका विदुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षबाट जाहेरी लिएर कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका निरीक्षक राधाकृष्ण पराजुलीले बताउनुभयो । पीडितका अभिभावकले दोषीमाथि कानुनी कारबाही र छोरीको उपचारका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।
यस्तै भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीको सुनबालुवामा डोजर तार्ने क्रममा नदीको बीचमै डोजर अड्किएर अलपत्र परेका चालकसहित २ जनालाई २४ घण्टापछि उद्दार गरिएको छ । इटहरीबाट गएको सशस्त्र प्रहरीको र्याफ्टिङ टोलीले चालक दिनेश लम्साल र सहयोगी राजुलाई नदीबाट बाहिर निकालेका हुन् ।
धनकुटाको मुगादेखि घोडेटारसम्मको सडक निर्माणका लागि ल्याइएको डोजर काम सकेर धनकुटा फर्काउने क्रममा नदीमा चेन बिग्रिएपछि डोजरसहित २ जना शनिबार दिनभरी र रातभरबीच नदीमै अलपत्र परेका थिए ।