कांग्रेसका पूर्व सांसदसहित चार जनालाई कारवाहीको सिफारिस

संविधान सभा निर्वाचनमा पार्टी हित विपरित काम गरेको भन्दै नेपाली कांग्रेस दाङ क्षेत्र नं. ५ ले पूर्व सांसद गेहेन्द्र गिरीसहित ४ जनालाई कारवाही गर्न केन्द्रीय अनुशासन विभागमा सिफारिस गरेको छ ।
सविधानसभा निर्वाचनमा गिरीसहितका क्षेत्रीय प्रतिनिधिहरु हेमन्त योगी, डिल्लीराज कँडेल, शान्तिनगर ईकाई सभापति बुद्धीराम तिवारीलगायतले पार्टी हित विपरित कामगरी निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै क्षेत्र नम्बर ५ मा गठित छानविन समितिले कारवाहीका लागि सिफारिस गरेको क्षेत्रीय सभापति वसन्तकुमार देवकोटाले जानकारी दिनुभयो ।
कारवाहीका लागि सिफारिस गरिएकाहरुलाई कम्तीमा ३ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गर्न केन्द्रीय अनुशासन विभागमा पत्राचार गरेको छानविन समितिले जनाएको छ । कारवाहीमा परेका कांग्रेस नेता कार्यकर्ताले चुनावमा आफ्नो पार्टीलाई हराउन लागेको आरोप छ । 
गत संविधानसभा चुनावमा दाङका सवै क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो ।