नेपाली कांग्रेसका ४ जना युवा नेताले पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य गर्न माग गरेका छन् ।
कांग्रेसका नेताहरु गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले पार्टी सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउदै पार्टीको संगठनलाई थप बलियो बनाउन आन्तरिक गुटबन्दी र भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले समानुपातिकतर्फका सभासद चयनको मापदण्ड बनाउदा पार्टीको संगठन र समाबेशीतालाई आधार बनाउन पनि माग गरेका छन् । ज्ञापनपत्रमा विविधता प्रतिबिम्बित हुनेगरि सन्तुलित र न्यायसंगत रुपमा योग्य ब्यक्तिलाई सभासद बनाउन माग गरिएको छ ।
उनीहरुले प्रत्यक्षतर्फ कांग्रेसको प्रतिनिधित्व हुन नसकेका २३ जिल्लामध्ये हरेक जिल्लाबाट कम्तीमा १ जनालाई सभासद बनाउनुपर्ने, प्रत्यक्षतर्फ महिला थोरैमात्र विजयी भएकाले समानुपातिकतर्फ ६० प्रतिशत महिला र प्रत्यक्षतर्फ एक जनापनि दलित उम्मेद्वार विजयी नभएकाले २३ प्रतिशत दलितलाई सिफारिस गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै सहिद परिवार र सशस्त्र द्वन्द्व पीडितका परिवार तथा भातृ र सुभेच्छुक संस्थाका एक एकजना प्रतिनिधि तथा सवै जातजातिको प्रतिनिधित्व गर्ने र राष्ट्रिय स्तरमा आफ्नो विशेष पहिचान बनाएका र ख्यातिप्र्राप्त ब्यक्तिलाई पनि समानुपातिकको सभासद मनोनित गर्दा प्राथमिकता दिनुपर्ने ज्ञानपत्रमा माग गरिएको छ ।
यसैवीच समानुपातिक सभासद् सिफारिसको मापदण्ड बनाउने तथा समसामयिक राजनीतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा बुधबार समानुपातिक सभासदको मापदण्ड बनाउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।