भीमेश्वरको शीलामा ‘पसिना’ आएपछि परम्परा अनुसार ‘क्षमापूजा’ गर्न राष्ट्रपतिले भेटी र गृह मन्त्रालयले कालो जोर बोका पठाएँ

 – राजेन्द्र मानन्धर 
दोलखा बजारस्थित भीमेश्वरको शीलामा ‘पसिना’ आएपछि परम्परा अनुसार ‘क्षमापूजा’ गर्न राष्ट्रपतिले भेटी र गृह मन्त्रालयले कालो जोर बोका पठाएको छ ।
उक्त पूजा सामाग्रीसहित बुधबार बिहान प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको अगुवाईमा भीमेश्वरमा क्षेमा पूजा भएको छ । पुजामा गृहबाट जिल्ला प्रशासन कार्यालयमा पठाइएको कालो रंगको जोर बोका बली दिइएको थियो । क्षमापुजाको क्रममा राष्ट्रपति रामबरण यादवले पठाएको २ हजार ५ सय रुपैयाँ भेटी चढाइएको थियो । प्रजिअ पोखरेलले भीमेश्वरको दिक्षाप्राप्त पुजारीको सल्लह अनुसार पुजा सामाग्रीलाई विधिपूर्वक पूजा गरेका थिए । प्रजिअ पोखरेलले भीमेश्वरमा पसिना आएपछि विक्रम सम्बत् १९९० सालदेखि गर्दै आएको पुजा गरिएको बताए ।
यसअघि पनि शीलाको रंग फुस्रो हुँदै चिल्लो कालोमा बदलिएपछि पानीको थोपाहरु देखिदै झर्दै गर्ने क्रमपछि राजाको सक्रिय शासनका बेला राजाले र प्रधानमन्त्री राष्ट्रप्रमुख (गिरिजाप्रसाद कोइराला) हुँदा उनले क्षमापुजा गर्दै आएका थिए । अहिले स्थानीयको निर्णय अनुसार पसिना पुछेको कपास (महाप्रसाद) रुपमा राष्ट्रप्रमुखलाई पठाएपछि राष्ट्रपति यादवबाट पुजा सामाग्री आएको भीमेश्वर व्यवस्थापन समिति अध्यक्ष जीवन श्रेष्ठले बताए ।
अइतबार भीमेश्वरमा पसिना आएपछि पूर्व राजा ज्ञानेन्द्रले पनि आफ्नो सहयोगी ४ जनाका साथमा एक हजार भेटी पठाएका छन् । पूर्व राजा ज्ञानेन्द्र लेखेर रसिद कटाउदै भेटी चढाएका हुन् । उनैको नामबाट टहलुवा (मन्दिर हेरालु) ४ जनालाई २ का दरले रकम दिएको भीमेश्वर व्यवस्थापन समिति कोषाध्यक्ष भतर श्रेष्ठले बताए ।
क्षेमापुजामा चलन अनुसार सबैभन्दा पहिला पसिना आएको देख्ने टहलुवा काशीनाराय श्रेष्ठको एक वटा र भक्तजनहरुको तर्फबाट २ वटा कालो बोका गरी ५ वटा बोकाहरु भीमेश्वरमा बली दिइएको छ । पुजापाठ पछि बोकाका मासु र अन्य खान्कीहरु प्रसादको रुपमा भोज लगाइएको छ । प्रसादलाई राष्ट्रपति कार्यालयमा पनि पुर्‍याइएको छ ।