‘एमालेलाई कांग्रेसको प्रस्ताव चित्त नबुझे प्रतिपक्षमा बस्छ’ – नेपाल

– शिव पुरी       
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार निर्माणको क्रममा कांग्रेसले चित्त बुझ्दो प्रस्ताब नल्याए एमाले प्रतिपक्षमा बस्ने चेतावनी दिएका छन् । सरकार गठनको सवालमा कांग्रेसको प्रस्तावको प्रतिक्षामा बसेका छौं नेपालले भने, ‘चित्त नबुझे प्रतिपक्षमा बस्छौं ।’   
संविधानसभा निर्वाचनमा विजयी भए पछि दोश्रो पटक गृह जिल्ला आएका नेता नेपालले बिहीबार गौरमा पत्रकार महासघ रौतहट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा भने सबै पद कांग्रेसले लियो र एमालेलाई वाईपास गर्ने काम भयो भने प्रतिपक्षमा बस्छौं । एमाले कांग्रेसको प्रस्ताव हेर्न र सुन्न आतुर छ उनले भने, ‘सरकार बनाउन कस्तो प्रस्ताव आउने हो त्यस पछि एमालेले अन्तिम निर्णय लिन्छ ।’
एमाले प्रतिपक्षमा बसे कांग्रेसले कसरी सरकार बनाउँछ भन्ने सँचारकर्मीको प्रश्नमा नेता नेपालले भने,’झोरझार पारेर सरकार बनाउला नी । ‘
राष्ट्रपति हटाउने बिषयमा बढेको दलहरुबीको विवाद कायमै रहेको उनले बताए । सबै बिषयमा चाँडै टुङ्गो लाग्ने  समेत उनको भनइ थियो । संविधान निर्माणको क्रममा कुनै किसिमको बाधा ब्यवधान आए आफूहरुलाई मान्य नहुने नेता नेपालले बताए । त्यसैको लागि पनि एमाओवादीलाई मिलाउन हरसम्भव प्रयास जारी छ उनले थपे ।
यभसैगरी     तराईमा बढेको चिसोका कारण दलीत बस्ति प्रभावित हुन थाले पछि नेता नेपाल आफ्नो  क्षेत्रको दलीत बस्तीमा कम्बल बितरण गर्न बुधबार आएका हुन् । उनले दलित बस्तीका ६५ परिवारलाई कम्बल वितरण गरेका थिए । बैशाख भित्र स्थानीय निर्वाचन गरेरै छाड्ने नेता नेपालले दावी गरे । निर्वाचनमा धाँधली भएको भन्दै आएको एमाओवादीले भने जस्तै समिति नबन्ने तर, सविधानसभाबाट समस्यका बारेमा छलफल गर्न सकिने उनले बताए ।
गृह जिल्लामा आउदा उनलाई कुन क्षेत्र छाड्दै हुनुहुन्छ भनेर कार्यकर्ताले हैरान पार्ने गरेको छ । उनले गृह जिल्ला आफ्नो मुटु भएको बताउँदै अाए पनि कुन क्षेत्र छाड्ने भन्ने पार्टीले निर्णय गर्ने जानकारी दिए ।