प्रहरीले ठूलो परिणाममा लागुऔषधसहित दुई जनालाई शनिबार बिहान पोखराबाट पक्राउ गरेको छ ।
नफिर्न इन्जेक्सन १९२ थान, डाइजापाम इन्जेक्सन १९२ थान र फेनरागन इन्जेक्सन १९२ थानसहित ३० वर्षीया संजिता गुरुङ र २० वर्षीय लाला चौहानलाई लागुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ गरेको हो ।
झण्डै यो परिणामको लागुऔषध बजार मुल्य झण्डै पाँच लाख रुपैयाँको हाराहारी पर्न जान्छ । पोखराको नयाँबजारमा डेरा गरी बस्ने संजिताले चौहान मार्फत लागुऔषध खरिद गरी पोखरामा कारोबार गर्दै आएको ब्युरोका प्रमुख प्रहरी निरीक्षक मदन कुवँरले जानकारी दिए ।
बिगत एक वर्षको तुलनामा पोखरामा समातिएको लागुऔषधको यो सबै भन्दा ठूलो परिणाम रहेको उनले बताए ।
डेरामा बस्ने गुरुङ सम्पन्न शैलीमा बसेर बिगत लामो समयदेखि पोखरामा लागु औषधको कारोबार गदै आएको देखिन्छ । भारत सुनौली हुँदै चौहानले उनलाई विक्री गर्ने र गुरुङले प्रयोगकर्तासम्म पुराउने गरेको ब्युरोको अनुसन्धानमा देखिएको छ ।
ब्युरोले चार महिनाको अवधीमा लागुऔषधमा संलग्न १५ जनालाई पक्राउ गरी मुद्धा चलाइसकेको छ । लागुऔषध प्रयोगकर्ताको बढ्दो संख्यासँगै पर्यटकीय नगरी पोखरामा लागुऔषधको कारोबार अधिक रहेको कुवँरले बताए ।