भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मंसिर ४ गते शान्तिपूर्णरुपमा संविधानसभा निर्वाचन सम्पन्न गरेको भन्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बधाई दिएका छन् ।
नेपाल भ्रमणमा रहेका भारतीय ऊर्जामन्त्री डा. फारुक अब्दुल्लाहले शनिबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेट गरेर सिंहको बधाई सन्देश सुनाएका हुन् । डा. अब्दुल्लाहले निर्वाचनको सफलतासँगै नेपालमा शान्ति र विकासले गति लिने विश्वास व्यक्त गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।
जवाफमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई बधाई र शुभकामनाका लागि आफू आभारी रहेको भारतीय प्रधानमन्त्रीलाई सुनाइदिन मन्त्री अब्दूल्लाहसँग आग्रह गरे ।
मन्त्री अब्दुल्लाहले नेपालको ऊर्जा विकासमा सहयोग र सहकार्य गर्न भारत सरकार तत्पर रहेको उल्लेख गरेको पाण्डेयद्वारा शुक्रबार जारी प्रेस नोटमा उल्लेख छ ।
संविधानसभा निर्वाचनकाक्रममा भारत सरकारले गरेको सबै सकारात्मक सहयोगका लागि धन्यवाद दिंदै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नेपाल र भारतबीचको सम्बन्ध र सहकार्य आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।