छिटो सरकार बनाउन कांग्रेस नेतृत्वलाई दबाब

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्वमा सबै दललाई सहमतिमा ल्याएर छिटो सरकार गठन गर्न सुझाव दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा शनिबार बोल्ने सदस्यहरुले सहमतिमा सरकार निर्माण गरेर राम्रो सन्देश दिनुपर्ने सुझाव नेतृत्वलाई दिएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
सरकार गठन, समानुपातिक तर्फको नाम सिफारिस, दलहरुबीचको वार्ता प्रक्रियामा अलमल नगरी छिटो टुङ्गोमा पुग्नुपर्नेमा पनि सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
यसैबीच सरकार गठन लगायतका विषयमा शनिबारका लागि हुने भनिएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच छलफल आइतबार विहान हुने तय भएको छ ।
केन्द्रीय समिति बैठक स्थगित गरेर सभापति कोइराला एमालेसँग वार्ता गर्न बाहिरिएपनि एमाले नेताहरुले आइतबार छलफल गर्ने भनेकाले छलफल हुन नसकेको कोइरालाको निजी सचिवालयले जनाएको छ । एमालेसँग विहान ८ बजे पार्टी सभापति कोइरालाको निवास महाराजगंजमा छलफल हुनेछ ।