चिसो बढ्दै गएपछि पठनपाठनमा समस्या पर्ने भन्दै मुस्ताङका सवै विद्यालय तीन महिनाका लागि बन्द

– दुर्गाप्रसाद शर्मा
हिमाली जिल्ला मुस्ताङका सवै विद्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चिसो बढ्दै गएपछि पठनपाठनमा समस्या पर्ने हुँदा विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
अघिल्ला वर्षहरुजस्तै यस बर्ष पनि मंसिर १५ गते देखिनै विद्यालयहरु बन्द हुने क्रम शुरु भएको जिल्ला शिक्षा अघिकारी लेखनाथ पौडेलले जानकारी दिनुभयो । उपल्लो मुस्ताङका सबै विद्यालय मंसिर १५ गते देखि बन्द भएका थिए भने तल्लो मुस्ताङका विद्यालय पुस १ गतेदेखि बन्द भएका हुन् ।
फागुन लागेपछि विद्यालयहरु खुल्ने उहाँले बताउनुभयो । मुस्ताङमा ८ वटा मावि, ११ वटा निमावि, ८२ प्रावि र ११ वटा गुम्बा स्कूलमा २२ सय विद्यार्थी पढ्ने शिक्षा कार्यालयले जनाएको छ ।
मुस्ताङमा जाडो बढेपछि उपल्लो मुस्ताङका ३ वटा विद्यालयले भने पोखरामा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् । छोछेर, छोन्हुप र लोभान्थाङ गाविसका विद्यालयहरुले पोखरामा घुम्ती विद्यालय सञ्चालन गरेका छन् ।
छोछेर गाविसका ८०, छोन्हुपका ३५ र लोभान्थाङका ३० जना विद्यार्थीहरुले पोखराको घुम्ती विद्यालयमा माध्यमिक तहसम्मको अध्ययन गरिरहेका जिल्ला शिक्षा अधिकारी पौडेलले बताउनुभयो ।
छोन्हुप गाविसले आफै ब्यवस्थापन गरी घुम्ती विद्यालय सञ्चालन गरेपनि अरु गाविसका विद्यालयहरुका लागि सरकारले नै आवासीय सेवा उपलब्ध गराएको छ । पौडेलका अनुसार ती विद्यालयमा गर्मी मौसमको ५ महिना मुस्ताङकै गाविसमा कक्षा सञ्चालन हुन्छन् भने चिसो मौसमको ५ महिना पोखरामा कक्षा सञ्चालन हुनेगर्छ ।