समानुपातिक सभासद्को नाम छनोट गर्न दलहरु ब्यस्त

समानुपातिक सभासद्को नाम छनोट गर्न दलहरु मंगलबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
निर्वाचन आयोगले पुस १० गतेसम्म समानुपातिकको नाम बुझाउन दलहरुलाई समयसीमा दिएको छ । त्यसै अनुसार दलका नेताहरु बिहानैदेखि नाम चयनमा व्यस्त छन् ।
नेपाली कांग्रेसले दिउँसो एकबजे संसदीय समितिको बैठक बसेर औपचारिक निर्णय गर्ने जनाएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने तयारी छ ।
त्यस्तै नेकपा एमालेले पनि बुधबार समानुपातिक सभासद्को सूची तयार गर्ने जनाएको छ । बेलुकीसम्ममा स्थायी समिति बैठक बसेर सभासद् बन्नेहरुको सूची तयार गर्ने तयारी एमालेको छ ।
त्यस्तै मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा लगायतका मधेसवादी दलले पनि सभासद् छनोटका लागि आआफ्नो पार्टीमा छलफल थालेका छन ।
तर एकीकृत नेकपा माओवादीले भने दलहरुबीच सहमति नभएसम्म सूची नबुझाउने जनाएको छ । दलहरुकै आग्रहमा सूची बुझाउन आयोगले दोस्रो पटक बुधबारसम्मको समयसीमा तोकेको छ ।