संविधान सभा बैठकका लागि सबै तयारी पुरा-दलहरु सभासद छान्ने गृहकार्यमा

व्यवस्थापिका संसद सचिवालयले संविधानसभा बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ ।राजनीतिक दललाई कार्यालय व्यवस्थापन, जनशक्ति व्यवस्थापन र संविधानसभा भवन मर्मतको सकिएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
कार्यालय व्यवस्थापनको काम सचिवालयलाई निकै समस्या परेको थियो । अहिलेकै भौतिक पूर्वाधारमै दलका कार्यालय व्यवस्थापनको काम सकिएको शर्माले बताउनुभयो ।
उहाँका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका लागि पहिलेकै कार्यालय व्यवस्थापन गरिएको छ । अरु केहीदलको भने हेरफेर समेत गरिएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने तीसवटै राजनीतिकदललाई कार्यालयको व्यवस्था गरिसकिएको र दुईजना स्वतन्त्र सभासद्लाई पनि कार्यालय उपलब्ध गराइने शर्माले बताउनुभयो ।
अब सरसफाईको काम र केही फर्निचरको व्यवस्थापन गर्न मात्र बाँकी रहेको छ । त्यस्तै संविधानसभा भवनमा पनि आज माईक जोड्ने काम सकिने सचिवालयले जनाएको छ । प्रवक्ता शर्माले सामान्य सरसफाई बाहेक लगभग सबै तयारी सकिएको जानकारी दिनुभयो ।
दलहरु सभासद छान्ने गृहकार्यमा
निर्वाचन आयोगले समानुपातिक सभासदको सूची बुझाउन म्याद थपेसँगै राजनीतिक दलहरु सभासद् छान्न छलफलमा जुटेका छन् ।नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेको र संसदीय समितिको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने तयारी थालेको छ ।
त्यस्तै नेकपा एमाले बुधबादेखि नै आवासीय छलफलमा जुटेको छ । अहिले पनि नेताहरु काठमाडौंको गोकर्ण रिसोर्टमा छलफलमा छन् । एकीकृत नेकपा माओवादी पनि आन्तरिक छलफलमा जुटेको छ ।दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेर सभासद् छान्ने तयारी एकीकृत नेकपा माओवादीको छ । त्यस्तै मधेसवादी दल पनि विहानैदेखि सभासद् छान्नमा जुटेका छन् । समानुपातिकबाट नेपाली कांग्रेसले ९१, नेकपा एमालेले ८४ र एकीकृत नेकपा माओवादीले ५४ सिट प्राप्त गरेका छन ।
दलभित्र गुटउपगुटका कारण मुख्यदललाई अप्ठ्यारो परेको छ । दलहरुले आउँदो १५ गतेसम्ममा समानुपातिकको सूची बुझाउनुपर्नेछ ।

सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे