नेपाली कांग्रेसभित्र समानुपातिक सभासदमा गुटगत भागबण्डा मिलेको छ ।आन्तरिक छलफलमा सभापति सुशील कोइरालाले ६० प्रतिशत र बरिष्ठ नेता शेरबहादुर देउवाले ४० प्रतिशत सभासद पाउने गरी सहमति भएको हो ।
कांग्रेसले समानुपातिक तर्फ पाएको ९१ जनामध्ये सभापति कोइराला पक्षले ५५ जना र देउवा पक्षले ३६ जना सभासद् सिफारिस गर्ने भएका छन् । गुटगत भागबण्डाको टुंगो लागेपछि कोइराला र देउवा पक्ष आफ्नो भागमा परेका सभासद्को नाम टुंग्याउन आन्तरिक छलफलमा छन् ।
दुवै नेताले आफू निकटसँग शुक्रबार दिनभर छलफल गरेका छन् । दुवै पक्षले टुंगो लगाएपछि कांग्रेसको संसदीय बोर्ड बैठक बसेर नामावली टुंग्याइने स्रोतको भनाई छ । संसदीय बोर्डले प्रारम्भिक नाम टुंग्याएपछि १५ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेर निर्वाचन आयोगमा बुझाइने कांग्रेसले जनाएको छ ।