समानुपातिक सभासद छनौटको विषयलाई लिएर राप्रपामा पनि विवाद

समानुपातिक सभासद छनौटको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि विवाद चर्किएको छ । राप्रपाका ५५ जना केन्द्रिय सदस्यहरुले पनि पार्टीले विधान विपरित नाम सिफारिस गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पार्टीको बहुमत सदस्यले पारित नगरिकन सभासदको नाम पठाएको भन्दै राप्रपाका नेता भुवन पाठकको नेतृत्वमा ५५ जना सदस्यले सूची सच्याउन माग गरेका छन् । १ सय ३ सदस्यीय केन्द्रिय समितिका बहुमत सदस्यले समानुपातिकको सूची पारित नगरेको निवेदनमा दावी गरिएको राप्रपाका नेता जगत गौचनले जानकारी दिनुभयो ।  
समानुपातिकतर्फ १० सिट जितेको राप्रपाले पार्टी अध्यक्ष सूर्यबहादुर थापा, केन्द्रिय सदस्यहरु अरुण चन्द र सरोज शर्मासहितको नाम आइतबार निर्वाचन आयोगमा बुझाएको थियो ।अरुण चन्द राप्रपाका नेता लोकन्द्रबहादुर चन्दका छोरा तथा सरोज शर्मा पूर्व नेता रबिन्द्र शर्माकी पत्नि हुनुहुन्छ ।
यस्तै राप्रपाले परशुराम तामाङ, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, गीता सिंह, इसियास अहमद खान, लक्ष्मी थापा पासवान र आनन्दी पन्तलाई पनि सभासदमा सिफारिस गरेको थियो । तर ५५ जना केन्द्रिय सदस्यले यो सूचीलाई सच्याउन माग गरेका हुन् ।