दुर्गा खनाल
समानुपातिक सूची बुझाउने अन्तिम दिन सोमबार निर्वाचन आयोगमा २८ दलले सुची बुझाएका छन् ।कांग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिक, तमलोपासहित अधिकांश दलले समानुपातिक सुची बुझाएका छन् । आयोगले सोमबार साँझ अबेरसम्म समानुपातिक सूची बुझेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबाट समानुपातिक सूची बुझाउन बाँकी छ । फोरम नेपालले धाँधली छानबिनको माग गर्दै आएको छ भने संघीय समाजवादी पार्टीमा आन्तरिक विवाद छ । संघीय समाजवादीले एक दुई दिनमै नाम बुझाउने जानकारी निर्वाचन आयोगलाई गराउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
समानुपातिकतर्फ ३० वटा दल निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसले सवैभन्दा बढी ९१ सिट पाएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले सवैभन्दा कम मत पाएर एक सिट जितेको छ ।दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राप्रपा नेपाल, राप्रपासहितका दलले यसअघि नै समानुपातिक सूची बुझाएका थिए ।
एमालेमाजस्तै कांग्रेसमा पनि समानुपातिक सभासद् चयनमा विवाद भएको छ । १२ जना केन्द्रीय नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।
एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले एकलौटी सूची बनाएपछि नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे । यद्यपी पोस्टबहादुर बोगटी र वर्षमान पुनले निर्वाचन आयोगमा नाम बुझाएका छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १० जना समानुपातिक सभासद् चयन गरेको छ । उसले सोमबार नै निर्वाचन आयोगमा सूची बुझाएको छ ।फोरम लोकतान्त्रिकबाट एन प्याब्सन अध्यक्ष गीता राणा, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल, चिकित्सक डा। सुवोध पोखरेल, उद्योगपती पवन सारडा सभासद् भएका छन् ।
यसैगरी कल्पना गच्छदार, सुमित्रा विश्वास, रमनी राम, आशा चर्तुवेदी, योगेन्द्र चौधरी र दिनबन्धु अग्रवाल समानुपातिक सभासद् भएका छन् ।
संघीय सदभावनाबाट झा श्रीमती
संघीय समाजवादी पार्टीले अध्यक्ष अनिलकुमार झाकी श्रीमती डा डिम्पलकुमारी झालाई सभासद् छानेको छ । उसले समानुपातिकमा एक सिटमात्र जितेको थियो । फोरम गणतान्त्रिकबाट राजकिशोर यादवकी श्रीमती सरिता सभासद् भएकी छन् ।
शरतसिंहविरुद्ध अविश्वास प्रस्ताव
शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा समानुपातिक सभासद् चयनको विषयमा विवाद बढेको छ ।
पार्टी महासचिव रामेश्वर साहले अध्यक्ष भण्डारी मनोमानी ढंगले चलेको भन्दै पार्टी कार्यालय बालकुमारीमा धर्ना दिएका छन् ।
सदभावनाबाट महतो श्रीमतीसहित पाँच छानिए
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबाट श्रीमतीसहित पाँच जना समानुपातिक सभासद् छानिएका छन् ।
पार्टीले बुधबार तयार पारेको सूचीमा महतो श्रीमती सहिलदेवी महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण, व्यापारी विमल केडिया, नरसिंह चौधरी र माधुरी रानी शाह छन् ।
तमलोपाबाट ७
तमलोपाले समानुपातिक तर्फबाट डा विजय सिंह, अकवाल अहमद साह, केदारनन्दन चौधरी, रमेश पटेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमारी गडेरीलाई छानेको छ ।
राप्रपा नेपालको सूची पुनः आयोगमा
राससका अनुसार राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको सूचीलाई अनुमोदन गरी पुनः निर्वाचन आयोगलाई बुझाएको छ ।
पार्टी कार्यालय धूम्रबाराहीमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले यसअघि बुझाएको २४ समानुपातिक उम्मेदवारको सूचीलाई अनुमोदन गरी आयोगलाई बुझाएको सो पार्टीका केन्द्रीय सदस्य एवम् प्रेस संयोजक मोहन श्रेष्ठले बताए ।
राप्रपा नेपालका नेता टङ्क ढकाल, राजाराम लगायतको समूहले पार्टी फुटाउने नियतले आयोगमा निवेदन दिएको तर निर्वाचन ऐनअनुरुप नयाँ दल दर्ता गर्न नमिल्ने भएकाले त्यसलाई आयोगले अस्वीकार गरेको सो पार्टीले जनाएको छ । नेता श्रेष्ठले पार्टीभित्र असन्तुष्टि जनाउनेमध्ये केही केन्द्रीय सदस्य सम्पर्कमा आएको र उनीहरुले हस्ताक्षर फिर्ता गर्ने जनाएको जिकिर गरे ।
एक हप्ताभित्र राष्ट्र प्रमुखलाई सूची बुझाइन्छ : उप्रेती
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलले बुझाएको समानुपातिकतर्फको सूची छानबिन गरी अन्तिम रुप दिएर एक हप्ताभित्र राष्ट्र प्रमुख र सरकार प्रमुखलाई बुझाइने जानकारी दिएका छन् ।
आयोगले सूची छानबिनका लागि तीन दिनको समय सीमा तोकेको छ । उनले सबै दलले सोमबार नै समानुपातिकतर्फ आआफ्नो दलले प्राप्त गरेको स्थान सङ्ख्याका आधारमा नामावली बुझाउने विश्वास व्यक्त गर्दै नबुझाउनेहरुको हकमा भने कानुनअनुसार नै हुने बताए ।
राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सूची बुझाइएपछि सो सूची नेपाल राजपत्रमा प्रकाशन गरिने छ ।