समानुपातिक सभासद् छनोटलाई लिएर एमाओवादी अस्तव्यस्त – केन्द्रमा लिखित असन्तुष्टि – तल्लो तहमा तोडफोड र झडप

समानुपातिक सभासद् छनोटलाई लिएर एमाओवादी अस्तव्यस्त भएको छ । गुटबन्दीको असर केन्द्रदेखि तल्लो तहसम्म देखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले एकलौटी सभासद् छानेको भन्दै नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले लिखित असन्तुष्टि राखेका छन् ।
भट्टराई र श्रेष्ठले बुधबार अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी एकलौटी तयार पारिएको समानुपातिक सूची सच्याउन, केन्द्रीय समितिको मापदण्ड पालना गर्न, सहिद परिवार, बेपत्ता, घाइते, अपांगलाई प्राथमिकता दिनुपर्नेलगायत माग राखेका छन् ।
दाहालले छलफल गरेर विवाद टुंग्याउने आश्वासन दिए पनि सूची सच्याउन तयार नदेखिएको स्रोतको दाबी छ ।
यसैबीच दाहाल र भट्टराई पक्षका कार्यकर्ताबीच बुधबार वीरगञ्जमा झडप भएको छ । समानुपातिक सभासद चयनको विषयलाई लिएर उत्पन्न विवाद सतहमा आएपछि झडप भएको हो । स्थानीय होटल सम्झनामा आयोजित पत्रकार सम्मेलनको क्रममा झडप भएको हो । भट्टराई पक्षीय नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमै प्रचण्ड पक्षीय कार्यकर्ताले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो । झडपको क्रममा सञ्चारकर्मीसहित १ दर्जन पार्टी कार्यकर्ता घाइते भएका छन् ।
उता कालिकोटका निर्वाचित संविधानसभा सदस्य एवं एमाओवादी पार्टी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्रबाट पार्टीले समानुपातिकमा उम्मेदवार छनौट नगरेको भन्दै संविधानसभामा भाग नलिने चेतावनी दिएका छन् ।
‘सिङ्गो कर्णाली एवं पिछडिएको क्षेत्रलाई पार्टीले उपेक्षा गर्यो, जनयुद्धको पूरै अपमान भएको छ, लिष्टमा हेरफेर नगरेसम्म म संविधानसभामा भाग लिन्न,’ उनले भने ।
शाही लगायत केन्द्रीय सदस्य जीवन बुढा र अन्य आठ जनाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका छन् । सिंगो कर्णाली क्षेत्रबाट महिला कोटामा हुम्लाकी गोमा गौतमलाई मात्र एमाओवादीले समानुपातिक कोटामा सभासद बनाएको छ ।