वीरेन्द्र केसी
सन्धिखर्कबाट काठमाडौका लागि छुटेको रात्रि बस सदरमुकाम नजिकै फुदवाङ्गस्थित शेरा भन्ने ठाउँमा सोमबार साँझ पाँच वजे दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ४३ जना घाइते भएका छन ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ । अरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा अर्घाखाँची हंसपुर-२ की ५२ वर्षीया रामकला केसी, बर्दिया मैनापोखरीका ४२ वर्षीय हरिलाल चौधरी र अर्घाखाँची बाँगी- ३ का ३० वर्षीय देवेन्द्र थाा रहेको प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डले बताए ।
केसी र चौधरीको घटनास्थलमै तथा थापाको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चौधरीको अर्घाखाँचीको चन्दननाथ गण नेपाली सेनाका जवान हुन् । बेलुका साढे चार वजे सन्धिखर्कबाट काठमाडौका लागि छुटेको बस सदरमुकाम नजिकै तीन किलोमिटरमा पुग्दा दुर्घटना भएको हो ।
बस उकालो चढ्दै गर्दा विपरीत दिशाबाट आएको लु १ ख ७१३५ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । बस सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको थियो ।
ओरालोमा तीव्र गतिमा आएको मिनी ट्रकले साईट दिन खोज्दा सडक साँधुरो भएका कारण बसलाई ठक्कर दिएकाले दुर्घटना भएको पाण्डेले बताए ।
सडकबाट तल खस्दा खेतमा रहेको विजुलीको पोलमाथि बस परेको थियो । विजुलीको नांगो तारमा बस परेकाले करेन्ट लगेर समेत केही यात्रु घाइते भएको पाण्डेको भनाई छ । घाईतेको प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए ।
सभाषद दुमन थापाद्धारा बस दुर्घटनाप्रति दुःख व्यक्त
सोमबार बेलुका साढे चार बजे अर्घाखाँचीको सन्धिखर्कबाट काठमाडौ जादै गरेको रात्रीकालिन बस फुदवाङ नजिकै भएको दुर्घटनाप्रति अर्घाखाँची क्षेत्र नं. २ का विजयी सभाषद डा. दुमन थापाले गहिरो दुःख व्यक्त गरेका छन ।
दुर्घटनामा दुःखद निधन भएकाप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन । सबै दुर्घटनामा परी घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।