राजविराज – समानुपातिक प्रणालीबाट संविधानसभा सदस्यमा छनौट हुन पैसाको चलखेल गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छानविन गर्ने भएको छ ।
मध्यमाञ्चलको भ्रमण सकेर पूर्वाञ्चलतर्फ आउने क्रममा आज साँझ राजविराज आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सप्तरीका पत्रकारहरुसित कुराकानी गर्दै समानुपातिकमा नाम पार्न पैसाको चलखेल गर्नेमाथि छानविन गर्ने बताएका हुन् ।
‘प्रत्यक्षतर्फ पनि निर्धारीतभन्दा बढी रकम उम्मेदवारहरुले खर्च गरेको भनी मिडियाबाटै थाहा भएको छ’, कार्कीले भने, ‘सही सूचना र प्रमाण फेला पर्यो भने हामी बढी पैसा खर्च गर्ने उम्मेदवार र समानुपातिकामा नाम पार्न पैसाका चलखेल गर्ने दुबैमाथि छानविन गरी कारबाही गर्नेछौं ।’
अख्तियार प्रमुख कार्कीले सरकारी सेवामा रहेका कर्मचारीहरुको सरुवा बढुवामा सक्रिय रहेका विभिन्न ट्रेड युनियनहरुको दादागिरीलाई तोड्न आगामी दिनमा आयोग अघि बढ्ने बताए ।
सप्तरीसहित तराईका जिल्लाहरुमा अख्तियारले पछिल्लो दुई सातादेखि थालेको अनुगमनबारे जानकारी गराउँदै प्रमुख आयुक्त कार्कीले शिक्षा, स्वास्थ्य तथा स्थानीय निकायमा अनियमितता फेला परेको जनाउँदै विस्तृत पछि बताउने जानकारी दिए ।
करिब १४ वटा सरकारी सवारी साधनसँगै सप्तरी आएका अख्तियार प्रमुख कार्कीले भोलि धनकुटामा अख्तियारको क्षेत्रिय कार्यालय उद्घाटन गरी राजधानी फकिर्ने कार्यक्रम छ । EKANTIPUR