ठाडामा एकीकृत खेती प्रणाली ! गाउँ घरमै कृषि पेशा रोजौं

वीरेन्द्र केसी
ठाडा, अर्घाखाँची । उमेरले ५० काटेका ठाडा दहका कमानसिंह दर्लामी अहिले एकीकृत खेती प्रणालीमा व्यस्त छन । उनी एक सय पचास थरीका फुल, तरकारी खेती, माछा, खरायो, कुखुरा र बंगुरपालनमा रमाएका छन । 
फुल बगैचामा डेढ सय प्रजातिका फुलका बोट छन । एक दशक देखी कृषिमा लागेका उनले अहिले मनग्य आम्दानी गरेका छन । उत्पादन भएका जुनसुकै वस्तुको माग खोसाखोस नै भैरहेको छ । यी सबै खेतीबाट वर्षमा ९ लाख रुपैया आम्दानी भएको छ । अहिले बंगुरपालनलाई बढी जोड दिएका छन । बंगुरबाटै वर्षमा ६ लाख रुपैया कमाई गर्छन । फुलबगैचामा थरीथरीका फुलका विरुवा बिक्री हुन्छन । वैदेशिक र स्वदेशी रोजगार र विभिन्न पेशा व्यावसायले गर्दा गाउँका खेती योग्य जमिन बाझिदै गएका छन । वर्षदिन खेती गरेर छ महिनालाई खान नपुग्ने बारीकै थोरै जग्गाबाट आधुनिक कृषि प्रणालीबाट उनले लाखौ आम्दानी गर्न सफल भएका छन । आफनै गाउँघरमा कृषि पेशा अपनाए  १५-२० हजार रुपैयाको जागिरको लागि खाडी मुलुक धाउनु पर्दैन, दर्लामीले भने, ज्यानै जोखिममा पार्नुभन्दा परिवारसँगै आफनै ठाउँको माटोमा खेलेर रमाउनै बेस हुन्छ । दर्लामी अहिले फुल, तरकारी बंगुरको भाउ कति छ ? कुखुराको भाउ कति छ ? भन्नमै व्यस्त छन । घरमा आएकाहरु फुलको वगैचा देखेरै एकछिन रमाउने गर्छन । 
बारीमा मात्रै होईन घरको पिढीमा अहिले गोलभेठा लटरम्मै फलिरहेका छन । बारीमा गोभी, साग, मुला, आलु छन । खोरमा २१ वटा बंगुर छन, जसमध्ये १० वटा तत्काल  ब्याउने तयारीमै छन । पाल्न सजिलो, माग बढी र छोटो समयमै आम्दानी हुने बंगुरपालनमा उनको ध्यान बढी छ । बंगुरलाइ नै ठुलो व्यावसायी फर्म नै बनाउने उनको सोच छ । फुल र तरकारीलाई बजारसम्म ठुलाउनु पर्ने तर बंगुरको माग अत्यधिक भएको उनले बताए । जुन काममा लागेपनि दत्तचित्त भएर निरन्तर लागेपछि सफलता मिलिहाल्छ, उनी भन्छन, कृषिमा नसोचेको कमाई र भविश्य उज्ज्वल छ । एउटा बंगुरलाई ३० देखी ४० हजार रुपैया सम्ममा बिक्री भएको उनले बताए । वर्षमा तीन पटक ब्याउने भएकाले यसमा फाईदा धेरै छ । 
सन्धिखर्क गोरुसिंगे सडक अन्तरगत ठाडा दह नजिकै उनले झण्डै २५ रोपनी बारीमा अन्तरप्रणाली खेती गरेका छन ।  नेपाल कृषि प्रधान देश भनेर एकादेशको कथा होला जस्तो छ, उनी भन्छन,  सबै खेतीयोग्य जमिन बाझिदै गएको छ, उत्पादनशील जमिन ह्रास हुदैछ, अन्न उत्पादन घटदै गएको छ । सरकार र नेताले आधुनिक खेतीको बारेमा भाषण मात्रै गर्छन तर गाउँघरमै कहिल्यै कार्यक्रम आएको छैन् । छिमेकी दौतरी साथी र उनका छोराहरु ऋण काढेर विदेश गए तर मैले ऋण काढेर कृषिमा लगानी गरे तर अहिले म निकै उत्साहित छु, उनले गर्वसाथ भने, मैले युवाहरुलाई पनि कृषि पेशामा लाग्न सल्लाह दिएको छु ।
 अर्घानिक तरकारी उत्पादन बाह्रै महिना भएको छ । विभिन्न तालिम, कृषि फर्ममा हिडदा डुल्दा धेरै अनुभव बटुलेको छु, त्यसैले पनि उत्साह थपिएको छ, अन्न खेती गर्ने त्यही बारीमा आधुनिक तरिकाले खेती गर्दा पौसै पौसा हुन्छ, उनले भने, त्यसैले कृषि पेशा छाडदैन, आम्दानीले छोराछोरीको शिक्षा,घरखर्च देखी घरघडेरी किनेको छु ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु