काठमाडौ – चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिको विषयलाई लिएर आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने लक्षण देखिन थालेको छ ।
उनको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सकका अनुसार केसीको पिसाबमा एसिटोन पोजिटिभ देखिएको छ । उनको टाउको दुख्ने र कमजोरीको समस्या पनि देखिएको छ । विस्तारै उनको स्वास्थय स्थिति कमजोर हुँदै गएको छ ।
आज उनको अनसनको तेस्रो दिन हो । यसअघि उनी दुई पटक अनसन बसिसकेका छन् । एकपटक ४ दिन र अर्को पटक ६ दिन अनसन बसेका थिए । पछिल्लो अनसनमा उनलाई आईसीयूमा राखिने अवस्था देखिएपनि उनको अडानका कारण त्यहाँ लगिएन ।
चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिको विषयलाई लिएर विरोधमा उत्रिएका प्राध्यापक गोविन्द केसीले आफ्नो अनशन मेडिकल माफिया र राजनीतिक हस्तक्षेप विरुद्धको लडाइँ भएको बताएका छन् । उनको आमरण अनशन आइतबार दोस्रो दिनसमेत जारी रह्यो ।
निजी मेडिकल कलेजलाई सम्बन्धन दिन राजनीतिक दल, उपकुलपति, रेक्टर रजिस्ट्रारलगायत बीच करोडौं चलखेल भएर नयाँ डिनमा डा. शशि शर्मा नियुक्त भएको उल्लेख गर्दै डा.केसीले धेरै कनिष्ठ र विवादास्पद छवि भएकालाई रोज्नुपर्ने कारण संस्थानका सबैलाई थाहा भएको बताए । डिन नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको उल्लेख गर्दै उनले ‘पाइप लाइन’ का मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया गैरकानुनी रूपमै आएको बताए ।
त्रिवि पदाधिकारीहरूले प्रहरीको मेडिकल कलेज, काठमाडौं नेसनल र मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिनुुपर्ने र पिपुुल्स डेन्टल कलेजलाई मेडिकल कलेजमा परिवर्तन गनर्ुुपर्ने दबाब दिएपछि प्राध्यापक सायमीले डिनबाट राजीनामा दिएको केेसीले बताए । ‘स्वच्छ छविका वरिष्ठ र कार्यक्षमता भएकालाई पाखा लगाउने कामले अन्ततः संस्थान धराशयी हुन्छ र चिकित्सा अध्ययन र सेवा नै बर्बाद हुन्छ,’ उनले भने ।
संस्थानलाई छुट्टै चिकित्सा विश्वविद्यालयका रूपमा विकसित गरेमात्र मुलुकको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन आउने डा. केसीको भनाइ थियो । त्रिवि पदाधिकारीहरूले आर्थिक र राजनीतिक चलखेलका आधारमा आफ्ना मतियारहरू राखेर संस्थान सञ्चालन गर्न खोजिरहेको आरोप उनले लगाए । ‘संस्थानले आफैंमा विश्वविद्यालयको काम गरिरहेको छ । यसलाई स्वायत्त रूपमा क्षमता भएका वरिष्ठ र स्वच्छ पदाधिकारीहरूले चलाए मुलुकको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउँछ,’ उनले भने ।
अनशन स्थलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि जयराज आचार्य लगायतका व्यक्तिहरू पुगेर आन्दोलनप्रति ऐक्यबद्घता जनाएका थिए । डा.भट्टराईले संक्रमणकालमा आफ्नो हकका निम्ति संघर्ष गर्नुपर्ने बताए ।
चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा.शशि शर्माले आइतबार दिउँसो कार्यभार सम्हालेका छन् । उनको पदस्थापन हुँदा त्यहाँ शिक्षण अस्पताल र संस्थानका उच्च पदाधिकारी अनुपस्थित थिए । उनको पदस्थापनामा महाराजगन्ज क्याम्पसका प्रमुख डा.जीवन श्रेष्ठ, शिक्षण अस्पतालका निर्देशक डा.भगवान कोइराला, संस्थानका सहायक डिनहरू डा.शरद वन्त, डा.विमल सिन्हा, डा.सरला श्रेष्ठ, डा.भरतमणि पोखरेल लगायतका पदाधिकारी अनुपस्थित थिए । ‘डा.शर्मा पद सम्हाल्दा हामी कुनै पनि पदाधिकारी गएनौं, यो हाम्रो विरोध हो,’ संस्थानका एक पदाधिकारीले भने, ‘हामी मात्र नभएर धेरै वरिष्ठ प्राध्यापक, फ्याकल्टिज लगायतकाहरू पदस्थापनामा सरिक भएनन् ।’
EKANTIPUR