डा. गोविन्द केसीलाई अनसन तोड्न चिकित्सकहरुको आग्रह, दबावमा हटाइए प्राध्यापक पदबाटै राजीनामा दिने नवनियुक्त डिनको चेतावनी

काठमाडौं, पुस ३० – स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुने  लगायतका सात बुँदे माग राखेर डा. गोविन्द केसीले  सुरु गरेको अनसनप्रति  केही चिकित्सकहरुले असहमति ब्यक्त गरेका छन् । उनीहरुले अनशन अन्त्य गर्नसमेत सुझाव दिएका छन् । 
पछिल्लो पटक चिकित्स शास्त्र अध्ययज संस्थानको  डिनमा डा. शशि शर्मालाई नियुक्त गरिएपछि राजनीतिक हस्तक्षेप भएको भन्दै डा. केसीले आमरण अनशन सुरु गरेका हुन् ।
रिपोर्ट क्लवमा मंगलबार डा. सुन्दरमणि दीक्षितले अनशन बसेका डा. केसीका मागहरु सवै सकारात्मक भए पनि यो आमरण अनशनको विधिप्रति आपत्ति व्यक्त गरे ।
अनसनका कारण आम जनताले उपचार पाउन नसकेको भन्दै चिकित्सकले यस्तो अवस्था निम्त्याउनु दुःखद भएको पनि टिप्पणी गरे । दीक्षितले भने- ‘नेपालका हरेक निकायहरुमा रानीतिक भागबण्डाका आधारमा नियुक्ति हुने गरेकाले देशमा यो अवस्था आएको हो । यो परम्परालाई अब तुरुन्त अन्त्य गर्नुपर्छ ।’
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले मुलुकमा विरोधका थुप्रै लोकतान्त्रिक विधि र प्रक्रिया भएको हुँदा यो अनशन गर्ने प्रवृतिलाई सदाका लागि त्यागेर निकासतर्फ उन्मुख हुनुपर्ने बताउँदै डा. केसीको जीवनरक्षाको लागि आहृवान समेत गरे ।
सभासद् डा. वंशिधर मिश्रले राज्यका विभिन्न निकायमा नियुक्ति गर्नका लागि उपयुक्त मापदण्ड बनाउनुपर्ने बताउँदै अहिले भएको डिन नियुक्ति प्रक्रिया नियमसंगत नै भएको बताए । उनले भने- ‘डा. गोविन्द केसीको अनशन कसैको उक्साहटमा सुनियोजित तवरले भएको हो ।’
पूर्व सहायक डिन रतेन्द्र श्रेष्ठले डा. गोविन्द केसीको अनशन सरासर नियमविपरित भएको वताउँदै भिसी र रजिष्ट्रारको समक्ष केसीले आफ्नो माग राख्नुपर्ने बताए ।
नवनियुक्त डिन डा. शर्माले आफ्नो नियुक्तिलाई लिएर आमरण अनशनमा बसेका केसीको अनसन नियोजित ढंगबाट भएको आरोप लगाउँदै तुरुन्त यो अनसन तोडेर आफूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
‘डिनका लागि मेरो योग्यता पुगेको छ । २८ वर्षदेखि यो शिक्षण संस्थामा कार्यरत छु,’ उनले भने, ‘मैले ७ वर्षदेखि हेड अफ डिपार्टमेन्ट सम्हाल्दै आएको पनि छु । यदि मलाई काम गर्न दिइएन भने म प्राध्यापकबाट पनि राजीनामा दिन्छु ।’ 
EKANTIPUR