राष्ट्रपति डा.रामवरण यादवले बलियो सरकार बनाउन र समयमै संविधान निर्माण गर्न मुख्य दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार विहान नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवासमा बोलाएर उहाँले सरकार गठन र संविधान निर्माणबारे छलफल गर्नुभएको हो ।
राष्ट्रपतिले छिटो सरकार गठन गरी संविधान निर्माणको वातावरण बनाउन आग्रह गर्नुभएको एमाले अध्यक्ष खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति कोइरालाले राष्ट्रपतिसँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताउनुभयो ।
राष्ट्रपतिसँगको भेट लगत्तै तीन दलबीच शीतल निवासमै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बारेमा छलफल भएको छ । मुलुकलाई समयमै संविधान दिन सहमतिको सरकार आवश्यक भएकाले यस विषयमा छलफल भएको एकीकृत माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो ।