शिक्षा मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति माधवप्रसाद पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको डीन नियुक्तिको निर्णय पुनर्विचार गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति लगायत विषयमा असहमति जनाउँदै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि निर्णय पुनिर्विचार गर्न विश्वविद्यालयका पदाधिकारीलाई लिखित निर्देशन दिनुभएको हो ।
विश्वविद्यालय स्वायत्त निकाय भएकोले शिक्षा मन्त्रालयले सिधै हस्तक्षेप गर्न नमिल्ने भएपनि विश्वविद्यालयका कुनै निणर्य सच्याउनुपर्ने अवस्था आए सच्याउन सकिने भन्दै मन्त्री पौडेलले उत्तरदायित्व बोध गर्र्न निर्देशन दिनुभएको छ ।
घुमाउरो भाषामा नियुक्ति फिर्ता लिन निर्देशन दिइएको पत्रमा संस्थानका तत्कालीन डिन प्रकाश सायमीको राजीनामा पछि नयाँ डिन नियुक्तिको प्रक्रिया अघि नबढाउन मन्त्रीपरिष्दका अध्यक्ष र आफूले निर्देशन दिएको स्मरण गराइएको छ ।
केसीको अनसन र त्यसपछि चिकित्सकको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुने अवस्था आएकोप्रति त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराउँदै मन्त्री पौडेलले गम्भीर भएर निर्णयमा पुनर्विचार गर्न निर्देशन दिनुभएको छ ।
पत्र प्राप्त भएको र सके कार्यकारी परिषद्को बैठक बोलाएर छलफल गर्ने उपकुलपति महर्जनले बताउनुभयो । तर सबै काम नियम बमोजिम भएको दावी गर्दै उहाँले निर्णयमा पूनर्विचार गर्ने ठाउँ नरहेको बताउनुभयो ।
विश्वविद्यालयले डा. शशी शर्मालाई डीन नियुक्त गरेलगत्तै डाक्टर केसीले आमरण अनसन थाल्नु भएको थियो । केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै देशभरका अस्पतालमा डाक्टरहरुले ओपिडी सेवा बन्द गरेका छन् । जसका कारण विरामी मर्कामा परेका छन् ।