परराष्ट्र मन्त्रालयले सोमबारदेखि राहदानी वितरणलाई सहज पार्नका लागि ६ वटा केन्द्र मार्फत फारम संकलनको व्यवस्था गरेको छ ।
नारायणहिटी दरबारको पश्चिमपट्टिको राहदानी बिभागमा बुझाइने राहदानी आवेदन फारम संकलनका लागि अरु केन्द्रपनि थपिएपछि आवेदनकर्ताहरु घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।
घण्टौसम्म लाइन बस्नुपर्ने गुनासो बढेपछि सरकारले अरु ठाउँमा पनि आवेदन केन्द्र विस्तार गरेको हो । मन्त्रालयका निमित्त सचिव शंकरदास वैरागीले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरिएको बताउनुभयो ।
उहाँले केही समयपछि काठमाडौका विभिन्न ठाउँमा थप केन्द्रहरु संचालनको तयारी भैरहेको पनि जानकारी दिनुभयो । दु्रत सेवाबाट राहदानी लिन दैनिक दुई हजारको हाराहारीमा आवेदन आउने गरेको छ ।