काठमाडौं, माघ ७ – संविधानसभा सदस्यले मंगलबार सपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्लाई सपथ खुवाएका हुन् । थापाले भने राष्ट्रपति रामवरण यादवबाट सोमबार नै सपथ लिएका छन् ।
सरकारले मनोनीत गर्न बाँकी २६ जनाबिनै प्रत्यक्ष र समानुपातिकतर्फका ५ सय ७५ मध्ये ५ सय ६६ सभासद्लाई सपथ खुवाइएको हो । संसद् सचिवालयका सहसचिव मुकुन्दप्रसाद शर्माका अनुसार कांग्रेसका नारायण खड्का र प्रदीप गिरी, मधेसी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप शाहसहित पाँच जना सभासद् अनुपस्थित भए ।
८० प्रतिशतभन्दा बढी नयाँको बाहुल्यता रहेको दोस्रो संविधानसभामा सपथका लिन नवनिर्वाचित सभासद् सभासदमा बेग्लै उमंग देखिन्थ्यो । मंसिर ४ गते भएको संविधानसभामा निर्वाचित सभासद्ले लामो पर्खाइपछि सपथको पालो पाएका हुन् ।
संविधानसभामा एमाओवादी र मधेसी तथा केही साना पार्टीबाहेक कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपालगायत दलका सभासद् दौरा सुरुवाल तथा साडी चोलोमा देखिए । एमाओवादी र मधेसी दलका सभासद्को पोसाकमा एकरुपता थिएन ।
संसद् सचिवालयका सहसचिव शर्माका अनुसार ४४ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् । तीमध्ये मैथलीमा १३, हिन्दीमा ११, अवधीमा ५, गुरुङ र लिम्बूमा २-२ तथा थारु, भोजपुरी, मधेसी, किरातीमा एक-एक जना सभासद्ले सपथ लिए ।
सभासद्लाई सपथको भाषा नेपाली नै हुनुपर्छ भन्ने बाध्यता छैन ।
सभासद् सपथको कार्यक्रम बिहान ११ बजेका लागि तोकिए पनि मध्यान्ह १२ बजेमात्रै सपथ सुरु भयो । संविधानसभाको पहिलो बैठक भने बुधबारदेखिमात्रै सुरु हुनेछ । ekantipur
काठमाडौं, माघ ७ – संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाले सोमबार राष्ट्रपति रामवरण यादवबाट संविधानसभा सदस्यको सपथ लिएका छन् । उनले मंगलबार संविधानसभाका अन्य सदस्यलाई सपथ गराउने कार्यक्रम छ ।
संविधानसभा अध्यक्ष चयन नभएसम्म बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पनि उनले पाएका छन् । संविधानसभा बैठक बुधबारदेखि सुरु हुँदैछ ।
थापाले पाचौ पटक देशको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् । ‘२०१४ सालमा सल्लाहकारसभाको अध्यक्षको जिम्मेवारी निर्वाह गरेयता म मन्त्री, प्रधानमन्त्री जस्ता कार्यकारी भूमिकामै रहेँ, त्यसपछि सदनमा रहे पनि त्यसको नेतृत्व गर्नुपर्छ भन्ने सपनामा पनि सोचेको थिइनँ’, उलने भने ।
संविधानसभाको अध्यक्षका लागि कानुनी पृष्ठभूमिको अनुभवी ब्यक्ति आवश्यक पर्ने उनले बताए । पूर्व अध्यक्ष सुवास नेम्वाङ्गको नामै उल्लेख गरेर थापाले उनीनै सभाध्यक्ष पदका लागि योग्य भएको बताए । ‘पूर्व अध्यक्ष त कानुनको विद्यार्थी, योग्ता, क्षमता र ज्ञान भएको ब्यक्ति,’ उनले भने- ‘म त उहाूलाईनै योग्य र ‘फिट’ देख्छु । यस्तो अन्तर्राष्ट्रिय अभ्यास र परम्परा पनि छ ।’
दोस्रो संविधानसभाको पहिलो बैठक बुधबार मुख्य राजनीतिक एजेण्डा बिना नै बस्दैछ । ‘सबैलाई स्वागत गर्ने, बैठक आह्वानको जानकारी गराउने काम हुनेछ,’ थापाले संवाददाताहरुसंग भने, ‘त्यस्तो खास कार्यसूची केही छैन ।’
२०६४ मा निर्वाचित संविधानसभा पहिलो बैठकले गणतन्त्र कार्यान्वयन सम्बन्धी ऐतिहासिक प्रस्ताव पारित गरेको थियो । अन्तरिम संविधानले पहिलो संविधानसभालाई जस्तो पहिलो बैठकको कार्यसूची दिएको छैन । निर्वाचन अघि दलहरुले पहिलोसभाका निर्णयहरुको स्वामित्व लिने प्रतिवद्धता जनाएपनि त्यसको प्रक्रिया निर्धारण गर्न सकेका छैनन् ।
EKANTIPUR