व्यवस्थापिका संसद्को पहिलो अधिवेशन बस्दै

काठमाडौं, माघ १२ – व्यवस्थापिका संसद्को पहिलो अधिवेशन आइतबार दिउँसो ३ बजे बस्दैछ । व्यवस्थापिका संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार पहिलो बैठकमा अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा राष्ट्रपति रामवरण यादवबाट पहिलो बैठक आह्वान गरेको पत्र सभामुखको जिम्मेवारी सम्हालेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले पढेर सदनलाई सुनाउनेछन् ।
त्यस्तै अर्को नियमावली नबनुन्जेलसम्म पुरानै नियमावलीअनुसार व्यवस्थापिका संसद्का बैठक सञ्चालन गर्ने प्रस्ताव सदनले पारित गर्नेछ । पहिलो बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश पारितका लागि टेबुल गर्नेछ । पारित अध्यादेशलाई अन्तरिम संविधानको अंग बनाउन सरकारले संसद्मा अर्को विधेयक प्रस्तुत गर्नुपर्छ ।
विगतमा जस्तै पहिलो बैठकमा संविधानसभा-२ बाट निर्वाचित पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यसूचीसमेत छ । पार्टीका अध्यक्ष वा पार्टीले तोकेका व्यक्तिले संसद्मा शुभकामना मन्तव्य दिनेछन् ।
नयाँ प्रधानमन्त्री चयन नभएसम्म काम चलाउ सरकारबाट व्यवस्थापिका संसद्का एजेन्डा हुनेछैन । संसद्को पहिलो काम राष्ट्रिय सहमतिका आधारमा वा दलहरूबीच सहमति हुन नसके बहुमतीय प्रणालीमा निर्वाचनबाट प्रधानमन्त्रीको चयन गर्नु हुनेछ ।  EKANTIPUR