व्यवस्थापिका-संसद्को आजको बैठकमा सरकारले विभिन्न पाँच अध्यादेश पेस गरेको छ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनसम्बन्धी विभिन्न चार अध्यादेश पेस गरेका हुन।
उनले निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७०, संविधानसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन (दोस्रो संशोधन) अध्यादेश २०७० पेस गरे।
यसैगरी, अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सम्पत्ति शुद्धीकरण निवारण (दोस्रो संशोधन) अध्यादेश २०७० पेस गरेका थिए।
अन्तरिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् नभएको अवस्थामा ती अध्यादेश राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको छ महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
बिहान ११ बजेका लागि बोलाइएको आजको बैठक करिब आधा घण्टा ढिलो प्रारम्भ भई १० मिनेटका लागि बसेको थियो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गर्नुभएको थियो।
संसद्को अर्का बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्नेछ। रासस