काठमाडौ, माघ १४ – संसद्को ठूलो दल कांग्रेसले पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइराला नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सघाउन एमालेलगायत दलहरूसँग आग्रह गरेको छ । उसले दोस्रो ठूलो दल एमालेलाई औपचारिक पत्र नै पठाएर समर्थन मागेको छ भने एमाओवादी नेतृत्वसँग वार्ता प्रक्रिया थालेको छ ।
एमालेले औपचारिक रूपमै सहयोगका लागि आग्रह गरिनुपर्ने बताएपछि लगत्तै कांग्रेसले एमालेलाई पत्र पठाएको हो । कांग्रेसका तर्फबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, नेताहरू रामशरण महत र मिनेन्द्र रिजाल तथा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम सहभागी बैठकमा सहमतिका लागि कार्यदल बनाउने टुंगोमा नेताहरू पुगेका छन् ।
कांग्रेसले त्यही बेहोराको पत्र अन्य दलहरूलाई पनि पठाउने उल्लेख गर्दै नेता रिजालले त्यसअघि ती दलसँग एकसरो छलफल गरिने बताए । स्रोतका अनुसार सभापति कोइरालाले सोमबारै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी कांग्रेस नेतृत्वलाई समर्थन जनाउँदै सरकारमा आउन आग्रह गरेका छन् ।
तर दाहालले भेटेरै विस्तृत छलफल गर्ने जवाफ दिएका छन् । फोनवार्तामा कोइरालाले संविधान निर्माणमा सहज वातावरण बनाउन र सबैको स्वामित्व स्थापित गर्न एमाओवादीलाई सरकारमा आउन अनुरोध गरेका थिए ।
एमाओवादी नेता कृष्णबहादुर महराले पार्टी अडानले संविधान निर्माणमा बाधा पुर्याउने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए । ‘सरकार बनाउने वा सरकारमा जाने, राष्ट्रपति र उपराष्ट्रपति फेर्ने दिशामा एमाओवादी अहिले जाँदैन,’ उनले भने, ‘तर संविधान बनाउन हाम्रो अनुपस्थितिले बाधा हुने भएमा विचार गर्न सकिन्छ ।’ एमाओवादीलगायत दलसँग मंगलबार छलफल गर्ने तयारी कांग्रेसको छ ।
उसले एमालेसँग पनि पुनः बैठक गर्ने जनाएको छ । उनीहरूबीच सोमबार सत्ता साझेदारीबारे सामान्य छलफल मात्र भएको थियो । एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखबारे प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएको छ । ‘अहिले मौखिक रूपमा सकारात्मक कुरा भएको छ,’ बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले संवाददाताहरूसँग भने, ‘कांग्रेसले पत्र पठाएपछि हामी पनि लिखित रूपमै समर्थन गर्नेछौ ।’
एमालेका अर्का नेता भीम रावलले कांग्रेससँंगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिलगायत विषयमा कुरा मिलिनसकेको बताए । ‘कांग्रेसले छलफल गर्न सकिने भनेको छ । हामीले समग्रतामा सबै विषयलाई सहमतिबाट अघि बढाउने भनेका छांै,’ उनले भने ।
राष्ट्रिय सहमतिको सरकार निर्माण हुन संसद्मा प्रतिनिधित्व गर्ने ३० वटै दलको समर्थन चाहिन्छ । तर सबैको समर्थन जुट्ने सम्भावना कम छ । सहमति नभएमा बहुमतीय प्रक्रियाबाट संसद्ले प्रधानमन्त्री चयन गर्नेछ । कांग्रेस नेता रिजालले सबै दलसँग सहमतीय सरकारका लागि सहमति जुटाउन छलफल हुने बताए । EKANTIPUR