काठमाडौं, माघ १४ । नेपालको सडक सुरक्षा अत्यन्त नाजुक रहेको एक अध्ययनले देखाएको छ । दातृ निकायको सहयोगमा तयार पारिएको नेपाल सडक क्षेत्र मूल्यांकन प्रतिवेदनले बढ्दो ट्राफिक चापसँगै सडक सुरक्षा झन् खराब हुँदै गएको देखिएको जनाएको छ ।
एसियाली विकास बैंक, बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी) र स्वीट्जरल्याण्डको विकास तथा समन्वय नियोगको सहकार्यमा नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा गरेको अध्ययनले नेपालको सडक विश्वकै खराब मध्येको एक रहेको ठहर गरेको हो ।
सामाजिक तथा वातावरणीय सुरक्षाका सन्दर्भमा नेपालको नीति राम्रो रहेपनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर हुँदा सडक सुरक्षा संवेदनशील बन्दै गएको अध्ययन प्रतिवेदनमा भनिएको छ । अनुगमन तथा मूल्यांकन पक्ष कमजोर हुँदा त्यसको असर सडक सुरक्षामा परेको जनाइएको छ ।
यद्यपि, अध्ययनले सुशासनको क्षेत्रमा न्यून गतिमा प्रगति देखिएपनि सडक सुरक्षा निरन्तर रुपमा पारदर्शीता र उत्तरदायित्वमा पीडित बन्दै गएको पनि अध्ययन प्रतिवेदनमा भनिएको छ ।
दातृ निकायका प्रतिनिधिहरुले नेपालको सडक सुरक्षा बढाउन सडक सम्बन्धी ऐन परिमार्जन गरिनुपर्नेमा जोड दिएका छन् । IMAGECHANNELS