काठमाडौं, माघ १४ – पूर्व मन्त्री एवं तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले तत्कालिन बाबुराम भट्टराई सरकार गठनपूर्व मधेसी दलसँग सहमतिमा हस्ताक्षर गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
२०६८ साल भदौ ११ गते एमाओवादी नेता भट्टराईलाई प्रधानमन्त्री बनाउन मधेसी दलसँग बिहानै चार बुँदे सहमति भएको थियो । सहमतिमा हस्ताक्षरपछि एमाओवादी र मधेसी नेताहरुले ‘चियर्स’ गरेको तस्बिरमा प्रष्टै देखिन्छ ।
गुप्ताले उक्त तस्बिर आफूसँगमात्रै रहेको दाबी गरेका छन् ।
फेसबुकमा मंगलबार तस्बिर सार्वजनिक गर्दै गुप्ताले लेखेका छन्- डा बाबुराम भट्टराई नेतृत्वमा मधेसी-माओवादीको संयुक्त सरकार गठन सम्बन्धि सहमति हु-दाको बखतको तस्बिर । सहमति अनि चियर्स । गहिरो गरी जान्नेहरू भन्छन, यही घटनापछि मलाई समाप्त पार्ने काल जन्मियो । कहि कतै, अरू कोहीसँग नभएको यो तस्विर अब सबैका लागि सार्वजनिक भयो ।