एमाओवादीले महाधिवेशनको एक वर्ष नपुग्दै केन्द्रीय समिति भंग गरी वैशाखमा राष्ट्रिय संगठनात्मक सम्मेलन गर्ने

काठमाडौं, माघ १५ – संविधानसभाको निर्वाचनमा पराजय भोगेको एमाओवादीले महाधिवेशनको एक वर्ष नपुग्दै केन्द्रीय समिति भंग गरी वैशाखमा राष्ट्रिय संगठनात्मक सम्मेलन गर्ने भएको छ । विशेष महाधिवेशन भने तत्काल नगर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले उक्त प्रस्ताव बुधबारको केन्द्रीय समिति बैठकमा राखेका छन् । त्यसलाई शुक्रबारको बैठकले छलफल गरी पारित गर्ने नेताहरूले जानकारी दिए । ‘राष्ट्रिय राजनीतिक परिस्थितिका कारण विशेष महाधिवेशन गर्न सकिँदैन भन्ने छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘हेटौंडा महाधिवेशनको कार्यदिशा ठीकै छ । त्यसैमा टेकेर संविधान निर्माणमा लाग्नुपर्छ भन्ने अध्यक्षको भनाइ छ ।’ छ महिनाभित्र मस्यौदा र एक वर्षमा संविधान जारी गर्ने प्रतिबद्घता रहेकाले त्यसलाई पहिले कार्यान्वयन गर्नुपर्ने धारणा दाहालले बैठकमा राखेका थिए ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले मौखिक रूपमा संगठनात्मक सम्मेलनको प्रस्ताव राखेका थिए । त्यसलाई बिहीबार राज्य समितिस्तरका नेताहरूसँग छलफल गरी शुक्रबारको बैठकमा लिखित पेस गर्नेछन् । एमाओवादीले दुई दशकपछि गत वर्ष माघमा हेटांैडामा महाधिवेशन गरेको थियो । त्यसबाट जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको दिशामा जाने कार्यदिशा तय गरेको छ । सशस्त्र युद्घबाट शान्तिपूर्ण राजनीतिमा जाने बाटो समाते पनि उक्त महाधिवेशनले युद्घकालीन संगठनात्मक संरचना कायमै राखेको थियो ।
संगठनात्मक शैली, व्यक्तिगत कार्यशैली र कार्यदिशाअनुसार पार्टी वैचारिक रूपमा मजबुत हुन नसकेको लगायत कारणले निर्वाचनमा पराजय बेहोरेको निष्कर्ष एमाओवादीको छ । त्यही कारण अब नयाँ खालको संगठनात्मक संरचनामा जान सम्मेलन गर्न लागेको हो । ‘समाजवादी कार्यक्रम लिएर जान हाम्रो संगठनात्मक संरचना फेर्नुपर्छ,’ केन्द्रीय सदस्य हेमराज भण्डारीले भने, ‘माओभन्दा लेलिनको ढाँचाको संरचनामा जाने कि भन्ने छ ।’  
अध्यक्ष दाहालले हालको केन्द्रीय समितिलाई भंग गरी सम्मेलन आयोजक समिति बनाउने र त्यसको संयोजक आफू हुने प्रस्ताव राखेका छन् । राज्य समितिहरू पनि भंग गरी एक संयोजक तोक्ने प्रस्ताव छ । आयोजक समितिमा रहनेहरू सबैलाई जिल्लामा पठाउने र त्यहाँबाट निर्वाचित भएर आउनुपर्ने छ । केन्द्रीय समिति सानो बनाउने र धेरै केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव छ । EKANTIPUR