काठमाडौ, माघ १७ – संविधानसभाको ठूलो दल कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समझदारी जुटाउन शनिबार सर्वदलीय बैठक बोलाएको छ । सहमतिको सरकार निर्माणको अन्तिम प्रयासका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दल र २ स्वतन्त्र सभासदलाई बैठकमा बोलाइएको महामन्त्री प्रकाशमान सिंहले जनाए ।
कांग्रेसले सहमतिको सरकार बनाउन दोस्रोपटक सर्वदलीय बैठक बोलाएको हो । यसअघि मंगलबार यस्तै बैठक बोलाए पनि त्यसबाट सहमतिको सरकार नबन्ने संकेत पाएकाले अन्तिम प्रयास गर्न फेरि बोलाइएको हो । पहिलो सर्वदलीय बैठकमा एमाओवादी र मधेसी जनअधिकार फोरमले कांग्रेसलाई आफ्नो पार्टीमा सत्तामा नजाने जानकारी गराइसकेका छन् । राप्रपा नेपालले पनि सरकारमा नजाने बताएको छ । यसले गर्दा सहमतिको सरकार नबन्ने प्रायः निश्चित जस्तै छ ।
दोस्रो सर्वदलीय बैठकबाट पनि सहमतिको सरकार बनाउने समझदारी नबने तुरुन्तै बहुमतीय प्रणालीबाट सरकार निर्माणको प्रक्रिया अघि बढाउने सिंहले बताए । उनका अनुसार कांग्रेसले सहमतिको सरकार गठनका लागि समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने छैन । राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दलहरूलाई दिएको सात दिनको समय आइतबार सकिँदै छ । संविधानअनुसार राष्ट्रपतिले दलहरूको आग्रहबिना नै सहमतिको सरकार निर्माण गर्ने समयावधि थप्न सक्छन् । तर, दलहरूले सहमतिको सरकार बन्ने वातावरण नरहेको जानकारी गराएमा भने राष्ट्रपतिले समय नथप्न सक्ने शीतल निवास स्रोतले जनायो ।
सभापति कोइरालाले पनि आफ्नो नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल भइरहेको उल्लेख गर्दै माघ १९ सम्ममा समझदारी हुन नसके बहुमतीय प्रक्रिया सुरु हुने बताएका छन् । महामन्त्री सिंहले चाक्सीबारीस्थित निवासमा राखेको चियापानमा बिहीबार उनले भने, ‘मेरो नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल थालेको छु । माघ १९ सम्ममा सहमतीय नभए बहुमतबाट नयाँ सरकार आउँछ ।’ EKANTIPUR