अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब डेढ दशकअघि मृत्यु भइसकेका यहाँका एक शिक्षकलाई दण्ड जरिवानासहित ५ हजार असुल गरी कारबाहीका लागि निर्देशन दिएको छ । ती शिक्षकले सम्पत्ति विवरण नबुझाएको भन्दै आयोगले शिक्षा कार्यालयलाई उक्त निर्देशन दिएको हो ।
खैरापुरस्थित तत्कालीन शम्भुशरण माविका शिक्षक राजारामप्रसाद चौधरीको मृत्यु भएको डेढ दशकपछि सम्पत्ति विवरण नबुझाएको भन्दै आयोगले कारबाही गर्न निर्देशन पत्र पठाएको छ । प्राथमिक तहका शिक्षक चौधरीको बगलामुखीबाट ०५६ मा शम्भुशरण उच्चमावि खैरापुरमा सरुवा भएको थियो । त्यसको केही समयपछि बिरामी भई उनको मृत्यु भएको
थियो ।
शिक्षा कार्यालयले जिल्लाकै अर्का शिक्षक हरिराम चौधरीको पनि सम्पत्ति विवरण माग गरेको जनायो । गत आर्थिक वर्षदेखि अख्तियार अनुसन्धान आयोगले शिक्षकको सम्पत्ति विवरण माग गरेको हो । त्यसमा मृत्यु भएका शिक्षकको नाम कति छन् भन्नेबारे शिक्षा कार्यालयलाई समेत जानकारी छैन ।
यस आर्थिक वर्षमा २ सय २७ शिक्षकले आर्थिक विवरण नबुझाएको भन्दै उनीहरूमाथि कारबाही गर्न शिक्षा कार्यालयलाई पत्रचार गरिएको छ । कार्यालयका प्राविधिक सहायक जीवन रेग्मीले सम्पत्ति विवरणमा मृत्यु भएकालाई मात्र होइन सेवा निवृत्ति -पेन्सन) र बीचैमा जागिर छाडेकालाई समेत सम्पत्ति विवरण बुझाउन अख्तियारले पत्र लेखेको जनाए ।
आठ वर्षअघि पेन्सन लिएका महाकवि देवकोटा उच्च माविका शिक्षक नन्दराज सुवेदीलाई समेत सम्पत्ति विवरण नबुझाएको भन्दै ५ हजार जरिवाना र सात दिनभित्र विवरण बुझाउन पत्र पठाएको शिक्षाले जनायो । शिक्षा कार्यालयका अनुसार आयोगले शिक्षा मन्त्रालयमार्फत पठाएको पत्रमा जिल्लास्थित नामै नसुनेका विद्यालयसमेत परेको छ । आयोगले शिक्षा कार्यालयमार्फत पठाएको पत्रमा अपडेट नगरी जथाभावी विद्यालयका नाम, नाम नै नसुनेका विद्यालय, फरक विद्यालयमा रहेका शिक्षकको नामावली पठाएकाले छुट्याउन समस्या भएको शिक्षाका कर्मचारीको गुनासो छ ।
स्रोतका अनुसार पठाइएका पत्रअनुसार कति जनाको मृत्यु भएको, सरुवा भएको र जागिरसमेत छाडेकाको संख्या कति छन् भन्ने खुल्न समय लाग्छ । शिक्षा अधिकारी भक्तबहादुर ढकालले शिक्षक किताब खानाले बर्सेनि शिक्षकको अपडेट नगरेका कारण यस्तो स्थिति आएको हुन सक्ने बताए ।
Source:Ekantipur