सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्ने एमालेको प्रयास असफल

काठमाडौं, माघ २० । सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्ने नेकपा एमालेको प्रयास असफल भएको छ । सहमतिबाटै दलको नेता चयन गर्ने भन्दै आज बसेको केन्द्रीय कमिटीको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । 
यद्यपि, बैठक भोलि बिहान ११ बजेका लागि पुनः डाकिएको छ । यसबीचमा सहमति नभए भोलि दिउँसो २ बजेपछि संसदीय दलको नेताका लागि निर्वाचन हुने कार्यक्रम रहेको बैठकपछि एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीबीच प्रतिष्पर्धा रहेको छ । पार्टी उपाध्यक्ष बामदेव गौतमले केपी ओलीलाई समर्थन गर्ने घोषणा गरेपछि खनाल र माधव नेपाल पक्ष अप्ठेरोमा परेको हो ।
ओली र गौतमबीचको समीकरणले एमालेको आगामी महाधिवेशनमा समेत असर पार्ने आंकलन गरिएको छ । IMAGECHANNELS