काठमाडौं, माघ २० । पर्यटन मन्त्री रामकुमार श्रेष्ठले नेपाल छिटै नै युरोपियन युनियनको कालोसूचीबाट हट्ने सम्भावना व्यक्त गरेका छन् । नेपाल आइ नेपालको हवाई सुरक्षा सम्बन्धी जाँच गरिरहेको युरोपियन युनियनको टोलीले गम्भीर भएर सूक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्ने हो भने अवश्य पनि इयुले निर्णय परिवर्तन गर्ने उनको विश्वास छ ।
सोमबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दैमा इयुले कालोसूचीमा नराखेको पनि उल्लेख गरे ।
इयुले सन् २००९ देखि नै सुरक्षाका विषयमा सचेत गराउँदै आएको उनको भनाइ छ । नेपालमा यही अवस्थामा पनि सबै वर्ग र समुदायलाई हीत पुर्याउने क्षेत्र पर्यटन भएकाले सबैले यसतर्फ गम्भीर हुुनुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिए ।
पूर्वाधार विकास बिना पर्यटक भित्र्याउन सम्भब नभएको भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती नगरी सुखै नभएको उल्लेख गरे ।
तर, आफूले यसमा सुधार गर्न खोज्दा अनावश्यक राजनीति गरेर विरोध गरिएको दुखेसो पनि उनले पोखे । यहाँ सार्वजनिक, निजी साझेदारी र बुट मोडलबारेमा समेत बुझाउन नसकिएको उनले उल्लेख गरे ।
अझै पनि विमानस्थल सुधारका लागि आफू लागिपरिरहेको पनि मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागी पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुले सबै दलहरुले आफ्ना घोषणापत्रमा पर्यटन क्षेत्रलाई प्राथमिकता राखे पनि कार्यान्वयनमा आशंका व्यक्त गर्दै व्यवहारमा लागू गरेर देखाउन जोड दिएका थिए । IMAGECHANNELS