पोखरा, माघ २३ – एमाओवादी पूर्वसभासद मुहमद सफिक मियाँलाई बालिका बलात्कार अभियोगमा अदालतले कैद सजाय तोकेको छ । घरमा काम गर्न राखेकी १४ वर्षीयालाई जबर्जस्ती यौन शोषण गरेको अभियोगमा कास्की जिल्ला अदालतले मियाँलाई बुधबार ७ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
न्यायाधीश रामप्रसाद ओलीले मुद्दा परेको १४ महिनामा फैसला गरेपछि मियाँ सजायको भागिदार बनेका हुन् । मियाँले क्षतिपूर्तिबापत ती बालिकालाई २ लाख तिर्नुपर्ने स्रेस्तेदार दीनबन्धु बरालले जानकारी दिए । पोखरा-९ नयाँबजार बस्दै आएका मियाँले ०६८ माघदेखि घरमा काम गर्न राखिएकी बालिकालाई यौन शोषण गर्दै आएको अभियोगमा प्रहरीले मुद्दा दायर गरेको थियो ।
काम गर्न राखेको दुई महिनामै श्रीमती नभएका बेलामा मियाँले पटकपटक यौन शोषण गरेको बयान ती बालिकाले अदालतमा दिएकी थिइन् । बिहे गर्ने र गरगहना बनाइदिनेलगायत विभिन्न प्रलोभनमा यौन क्रियाकलाप गरेको ती बालिकाको बयानमा उल्लेख छ । मुख र गुदद्वारलगायतमा मियाँले जबर्जस्ती पटकपटक अप्राकृतिक यौनसम्पर्क गरेको उनको भनाइ छ । काम गर्न नपाउने र विभिन्न त्रासका कारण सात महिनासम्म त्यस्तो क्रियाकलाप सहेकी ती बालिकाले आमालाई यौन शोषणको पीडा सुनाएकी हुन् ।
बालिकाले आमाको सहयोगमा ०६९ कात्तिक १९ गते पूर्वसभासद मियाँविरुद्ध प्रहरीकहाँ जाहेरी दिएकी थिइन् । त्यसलगत्तै फरार मियाँ अदालतमा मुद्दा दायर भएपछि ०७० जेठ २७ गते आफैं हाजिर भएर पुर्पक्षका लागि थुनामा थिए ।
लागूऔषधमा ५ वर्ष कैद
यसैबीच लागूऔषध कारोबारमा संलग्न एक युवालाई सोही दिन अदालतले पाँच वर्ष कैद सजाय गरेको छ । गत भदौ १७ गते पक्राउ परेका छिमेकी जिल्ला तनहुँ आँबु खैरेनीका १८ वषर्ीय ज्ञानेन्द्र थापामगरलाई न्यायाधीश ओलीले नै सजाय फैसला गरेका हुन् । थापा पोखरास्थित बसपार्कमा १६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । ekantipur