जिल्ला अदालत ओखलढुङ्गाले नेकपा (एमाले)का नेता छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सो फैसला गरेको हो ।
पूर्पक्षमा रहेका एमाओवादीका कार्यकर्ताहरु पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले-९ का टिकाराम भुजेल, पोखरे गाविसकै विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई जन्मकैदको सजाय तोकिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए।
सोही मुद्दामा तारेखमा रहेका ठूलाछाप गाविसका देवबहादुर कटवाल र दिलबहादुर सार्की तथा भदौरे गाविसका लालबहादुर भुजेललाई तीन वर्षको कैद तोकिएको छ।
उक्त मुद्दामा किटानी जाहेरी परेर फरार रहेका एमाओवादीका कार्यकर्ताहरु बाबुराम सुवेदी, दिपक कटवाल, तारा सिके लगायत सात जनाको मुद्दा अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी मुलतवीमा राखिएको छ । मुद्दाको फैसलापछि वादीका तर्फबाट बहस गरेका अधिवक्ता नानीबाबु बुढाथोकीले पीडितले न्याय पाएको प्रतिक्रिया दिए ।
एमाले नेता कार्कीको २०६७ असार २४ गते एमाओवादीका कार्यकर्ताहरुले ठूलाछापको निसंखेस्थित तारा होटलमा रड र लाठी प्रहार गरी हत्या गरेका थिए । रासस