काठमाडौ, माघ २६ – संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धनका लागि एमाओवादीसँग वार्ता थालेको छ ।
राष्ट्रपति/उपराष्ट्रपतिको चुनाव तत्कालै हुनुपर्ने अडानमा एमाले कायम रहेपछि वैकल्पिक गठबन्धनको प्रयास स्वरुपक कांग्रेसले तेस्रो ठूलो दल एमाओवादीसँग वार्ता थालेको हो ।
कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला सहितका नेताहरु आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवास पुगेका छन् ।
पार्टी भित्र राष्ट्रपति पदलाई प्रधानमन्त्रीसँग साट्न नहुने बलियो आवाज उठेपछि एमाओवादी लगायत अन्य दलसँग मिलेर वैकल्पिक गठबन्धनको प्रयासमा कांग्रेस लागेको छ । कांग्रेस र एमालेबीच शनिबार राति अबेरसम्म भएको छलफलमा कुरा मिल्न सकेको छैन । कुरा नमिलेपनि छलफल नरोकिएको कांग्रेस उपसभापति पौडेलले बताए । व्यवस्थापिका संसदमा प्रधानमन्त्री चुनावका लागि उम्मेदवारी दिने समय आइतबार साँझ ५ बजेसम्म समय तोकिएको छ । कांग्रेसबाट कोइराला प्रधानमन्त्रीका दावेदार छन् ।
EKANTIPUR