काठमाडौ, माघ २७ – एमालेले १३ मन्त्रालय लिएर कांग्रेसको नेतृत्वमा सरकारमा जाने दाबी गरेको छ । कांग्रेससित बराबर मन्त्रालय बाँड्ने सहमति भएकाले उसले २६ मध्ये १३ मन्त्रालय पाउने बताएको हो ।
एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । गौतमलाई उप-प्रधान तथा गृहमन्त्री जिम्मा दिएर सरकारमा पठाउने निर्णय भएको सचिव शंकर पोख्रेलले जनाए । ‘हामी बराबरी हैसियतमा सरकारमा जाने कुरा भएको छ,’ पोख्रेलले भने ।
दुई पार्टीबीच शक्तिशाली, विकासे र जनसम्पर्क मन्त्रालय सन्तुलित ढंगले विभाजन गरिने उनले बताए ।
केन्द्रीय पदाधिकारीबाट गौमतले नेतृत्व गर्ने भएकाले अन्य पदाधिकारीलाई सकभर सरकारमा नपठाउनेबारे छलफल भइरहेको छ । पदाधिकारीबाट गौतममात्र सरकारमा जाने अवस्था आए सचिव विष्णु पौडेल बाहिर रहनेछन् । स्रोतका अनुसार ‘आकर्षक’ मन्त्रालय पाए उनी सरकारमा जान इच्छुक छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाको आग्रहमा एमालेले सकभर निर्वाचित व्यक्तिलाई नै मन्त्री बनाउन प्राथमिकतामा राख्ने भएको छ । अघिल्लो र यो संविधानसभामा जितेर पनि अवसर नपाएका नेतालाई मन्त्री बनाउने मापदण्ड उसले तय गर्न लागेको छ ।
समानुपातिकमा नपरेका तर पार्टीमा योगदान गरेका केही व्यक्ति मन्त्री हुने सम्भावना छ । दुई पटक निर्वाचन जितेर मौका नपाएकाहरूमा रवीन्द्र अधिकारी, दीपक कार्की, शत्रुघन महतो र डम्बर तुम्बाहाम्फे छन् ।
एमालेले दुई पटक जितेर पनि अवसर नपाएकालाई बढी प्राथमिकतामा राखे यी नेता मन्त्रीमा पर्नेछन् । स्रोतका अनुसार सुनसरी ६ बाट चुनाव जितेका अध्यक्ष झलनाथ खनाल निकट भीम आचार्य यसअघि प्रमुख सचेतक भए पनि मन्त्रीमा पर्ने सम्भावना छ ।
एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री छँदा ९ दिन मात्र मन्त्री भएकी नेतृ राधा ज्ञवालीको नाम पनि चर्चामा छ । उनी समानुपातिक सूचीमा परिनन् । महिला जनजातिबाट सभासद् श्रीमाया थकाली, जनजातिबाट केन्द्रीय सदस्यहरू परशुराम मेघी गुरुङ (खनाल पक्ष), दलबहादुर राना (वामदेव-केपी पक्ष), पोलिटब्युरो सदस्य एवं प्रकाश ज्वाला (खनाल पक्ष) को नाम पनि मन्त्रीका लागि चर्चामा छ । ज्वाला खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए । दलितबाट बाँके ४ बाट निर्वाचित दलबहादुर सुनारको नाम चर्चामा छ । खनाल निकट नेता गोकर्ण बिष्टलाई ‘सम्मानजनक’ मन्त्रालय पाए पठाउने चर्चा छ । तर यसअघि ऊर्जामन्त्री भइसकेकाले उनी नपर्ने सम्भावना पनि छ ।
संसदीय दलका नेता केपी ओलीले पार्टीभित्र तीनै पक्ष (खनाल, आफू र नेपाल) का नेताहरूलाई सन्तुलित रूपमा मन्त्री बनाउने मनस्थिति बनाएको उनी निकट स्रोतले बतायो । राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने अडान छाडेकोमा खनाल पक्षका नेताहरू असन्तुष्ट छन् । खनाल निकट नेता गोकर्ण बिष्टले भने, ‘यो अडानमा हामीले हारेकै हो । कि अडान छोड्नै हुन्नथ्यो कि सुरुमा सहमति गर्नुपथ्र्यो ।’
एमाओवादी ‘अन्योल’ मा
एमाओवादीले आफू प्रतिपक्षमा बस्ने बताए पनि सोमबार हुने प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गर्ने कि अनुपस्थित हुने भन्नेबारे सोमबार मात्र निर्णय गर्ने भएको छ ।
‘हामी प्रतिपक्षमा बस्छौं, तर विपक्षमा मतदान गर्ने कि अनुपस्थित हुने भन्नेबारे सोमबार बिहान निर्णय गर्छौं,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यसबारे हामी गठबन्धनमा भएका दलहरूसँग छलफल गर्छौं ।’ उनले संसद्को नियमावली हेरेर निर्णयमा पुग्ने जानकारी दिए । कांग्रेस र एमाआवादीबीच आइतबार बिहान छलफल भएको थियो ।
नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहिलेदेखि नै आग्रह गरेको उल्लेख गर्दै कोइराला नेतृत्वको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए । ‘हाम्रो संविधान बनाउने एजेन्डा हो,’ उनले भने, ‘सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं ।’
फोरम लोकतान्त्रिक र रामसपाले कोइरालालाई भोट हाल्ने
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले प्रधानमन्त्रीमा सुशील कोइरालालाई भोट हाल्ने भएका छन् ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले कोइरालालाई नै मत दिए पनि सरकारमा सहभागी नहुने बताए । फोरम लोकतान्त्रिकका सभासदहरूको आइतबारको बैठकले कांग्रेसलाई सघाउने निष्कर्ष निकालेको हो । फोरम लोकतान्त्रिकका १४ सभासद छन् ।
शरतसंह भण्डारी नेतृत्वको रामसपाले पनि कोइरालाकालाई नै मत दिने निष्कर्ष निकालेको प्रचार सचिव अनिल कर्णले बताए । उसका ३ सभासद छन् । ११ सभासद रहेको तमलोपाले भने सोमबार बिहान टुंगो लगाउने प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले बताए । १० सभासद रहेको मधेसी जनअधिकार फोरम नेपाल, ६ सभासद रहेको सद्भावना, ३ सभासद रहेको तराई मधेस सद्भावना (तमसपा) ले मत कसलाई दिने भन्नेबारे एमाओवादी सहितको गठबन्धनको सोमबार बिहानको बैठकपछि मात्रै थाहा हुने बताएका छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७० माघ २७ ०८:४४